यही पुस २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चौका दाउ’ को टोली चलचित्रको प्रचार प्रसार को लागि यति बेला मोफसलमा रहेको छ । मङ्गलवार हेटौँडाबाट आफ्नो मोफसल प्रचार सुरु गरेको टिमले बुधवार चितवनमा पत्रकार भेटघाट गरेको थियो । पत्रकार भेटघाटमा चलचित्र निर्देशक पुर्णेन्द्र झाले चलचित्रमा विभिन्न हाँस्य कलाकारले अभिनय गरेको र चलचित्र सामाजिक हास्य विधामा निर्माण गरिएकोले समाजमा देखिएका समस्यालाई हास्यव्यङ्ग्य तरिकाले प्रस्तुत गरिएको बताए । मोफसलमा निर्देशक झाको साथमा चलचित्रकी मुख्य नायिका वर्षा राउत र वरिष्ठ हास्य कलाकार सन्तोष पन्त रहेका छन् ।

सन्तोष पन्त र वर्षाको साथमा ‘चौका दाउ’को मोफसल टुर 

चलचित्रको ट्रेलरमा चार अधबैँसे युवाहरू एक युवतीको पछि लागेको देखाइएको छ ।  चलचित्रले समाजको यथार्थ बोकेको यसका निर्देशक झा दाबी गर्छन् । त्यस्तै कार्यक्रममा बोल्दै चलचित्रका मुख्य कलाकार सन्तोष पन्त चलचित्रको कथाले गर्दा काम गर्न राजी भएको बताउँछन् । समाजको यथार्थलाई चलचित्रको पर्दामा कैद गरिएकाले सबैले हेर्नै पर्ने उनले बताए। नायिका वर्षा राउतले मानिसले काम बिगारेपछि त्यसको भागीदार आफै हुनु पर्ने भन्ने सन्देश चलचित्रले दिएको बताइन्।आफूले यस चलचित्रमा सन्तोष पन्त लगायत अन्य पुराना–नयाँ कलाकारसँग काम गर्न पाएकोमा खुसी लागेको बताउँछिन् । निर्माण पक्षको अनुसार चलचित्रको लगानी एक करोड माथिको रहेको छ । यो टिम हाल चितवनपश्चात् बुटवल पुगेको छ भने बुटवल पछि पोखरामा प्रचारप्रसार गर्नेछन् ।  चलचित्रमा सन्तोष पन्त र वर्षा राउतको अलावा विल्सन विक्रम, रबिन्द्र झा, तैयब शाह, अजस्र ढुङ्गाना, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, सागर सिग्देल लगायतका कलाकारको अभिनय रहेको छ । 
शम्भुजित बास्कोटाको कथा र सङ्गीत रहेको फिल्मलाई मनोज राजभण्डारी र सौर्य्जित बास्कोटाले निर्माण गरेका हुन्। सिनेमामा शम्भुजित बास्कोटाको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, दीर्घ गुरुङको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन रहेको छ ।