अभिनेताद्धय पल शाह र नाजिर हुसेनको मुख्य भूमिका रहेको चलचित्र ‘वीर विक्रम २’को पहिलो गीत सार्वजनिक भएको छ । चलचित्र देउताको सुपर हिट गीत ‘पिरतीको मिठो तिर्सना..’लाई रिमेक गर्दै वीर विक्रम २ ले यो गीत सार्वजनिक गरेको हो । गीतमा रञ्जित गज्मेरको संगीत, कुसुम गज्मेर र तुलसी घिमिरेको शब्द रहेको छ । यो गीतको नयाँ भर्सनमा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा पल र नाजिरको साथमा नायिका बर्षा सिवाकोटीको नृत्य रहेको छ ।

मुस्तांङमा छायाँकन गरिएका गीतको छायाँकार सुदीप बराल हुन् ।दुई बर्ष अघि रिलिज भएको वीर बिक्रमको सिक्वेलको रुपमा रहेको वीर विक्रम २लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्रमा लगानी पनि चाम्सकै रहेको छ । यो चलचित्रमा पल, बर्षा र नाजिरको अलावा बुद्धि तामाङ, देशभक्त खनाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।