वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक स्वर्गीय बाशुदेव मुनालको स्मृतिमा गठित बाशुदेव कोइराला मुनाल मेमोरियल फाउण्डेसनले यही पौष २७ गते उदयपुर जिल्लाको चौदन्डिगढि नगरपालिका १ ,चौदन्डिगढिमा सहयोग तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
चौदन्डिगढिको शारदा माध्यमिक बिधालयको प्राङ्गणमा भएको कार्यक्रममा विद्यालयका विद्यार्थी,गरिब तथा असहाय साथै जेष्ठ नागरिक गरी करिब १०० जनालाई ज्याकेट तथा खाद्य सामाग्री वितरण गरिएको थियो । फाउण्डेसनका अध्यक्ष तथा मध्य पश्चिमाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइरालाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रदेश १ का सभासद् बिमल कार्कीको उपस्थिति थियो साथै चौदन्डिगढि १ का वडा अध्यक्ष रोहित तामाङ, शारदा मा.बि.का प्रधान अध्यापक तारानाथ कटवाल लगायत विभिन्न प्रतिष्ठित व्यक्तिहरूको पनि उपस्थिति थियो । स्व : वासुदेव मुनालको जन्मस्थान साथै उहाँले अध्यन गर्नुभएको बिधालयबाट फाउण्डेसनले सहयोगको कार्यक्रम सुरुवात गरेको फाउण्डेसनका अध्यक्ष प्रा.डा. उपेन्द्र कोइरालाले बताउनु भयो । देशको कला र संस्कृतिमा आफ्नो जीवन भर उल्लेखनीय योगदान दिनु भएका स्व : बाशुदेव मुनालको स्मृतिमा गठित यो फाउण्डेसनले आगामी दिनमा अन्य विभिन्न ठाउँमा यस्तै तथा यो भन्दा बढी सहयोग गर्ने जानकारी पनि उहाँले दिनु भयो साथै असार २६ गतेको दिन उहाँको जन्म दिनको अवसर पारेर फाउण्डेसनले कुनै पनि क्षेत्रको बहुप्रतिभासाली अथवा कुनै पनि क्षेत्रमा विशेष योगदान दिएका प्रतिभाशाली व्यक्तिलाई विशेष सम्मान गर्ने निर्णय गरिएको जानकारी पनि दिनु भयो ।