माघ १८ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘गोपी’ युनिट यति बेला चलचित्रको प्रचारप्रसारमा व्यस्त छ । चलचित्रको प्रमोसनको क्रममा निर्माण टिम हाल मोफसलमा छ । शनिवार चितवनबाट सुरु भएको गोपीको मोफसल प्रमोसनमा निर्माण टिम खिचरा मोहसवमा पुगेको थियो । त्यहाँ दर्शकसँग सात्क्षतकार गर्दै चलचित्रका नायक विपिन कार्की र नायिका वर्षा राउतले गोपीको बारेमा जानकारी दिए । त्यस्तै प्रमोसनको क्रममा नायक विपिन कार्कीले साँच्चीकैको गोपी पनि भेटेका छन् । चितवनको ठुलो गड्डीस्थित गोपी ढकालले सञ्चालन गर्दै आएका ढकाल गाई फर्ममा विपिनसँगै नायिका वर्षा राउत र चलचित्रको टिम पुगेका थियो ।

जब चितवनमा विपिन र वर्षाले भेटे रियल ‘गोपी’

विपिनले फर्म भिजिट गर्दै गाई व्यवसायबारेमा भलाकुसारी गरेका थिए । २०५० सालदेखि चितवनमा गाई पालन गर्दै आएका गोपी ढकालले चलचित्रको पोस्टर र ट्रेलरले आफ्नै कथा भनेको महसुस भएपछि फिल्मको टिमसँग भेट्न मन लागेको बताए । परिवारको सदस्यले चलचित्रको ट्रेलर देखाएपछि आफ्नै कथामा चलचित्र बनेको रहेछ भन्दै पहिलो पटक आफ्नै नाम र कथामा बनेको चलचित्र हेर्न हल जाने उनले थपे ।  गोपी ढकाललाई भेटे पछि चलचित्रका नायक विपिन कार्की गोपीको कथाले थुप्रैको जीवनमा मेल खाने बताउँछन् ।उनी भन्छन् ‘यो चलचित्रको विशेषता नै यही हो चलचित्र हेरिसक्दा गाई पाल्नेले मात्र होइन जुनसुकै व्यवसाय गर्नेले पनि यसले आफ्नै कथा भनेको महसुस गर्नुहुन्छ ।’  शनिवार नै पत्रकारसँग अन्तक्र्रियासमेत गरेको टिमले चलचित्रले देशमै केही गर्न सकिने सम्भावनालाई चलचित्रले प्रस्तुतिको माध्यम बनाएको जानकारी गराएको थियो ।  

जब चितवनमा विपिन र वर्षाले भेटे रियल ‘गोपी’

अभिनेत्री वर्षा राउतले पनि स्वावलम्बन र स्वरोजगार को विषयलाई मुखरित गरेको चलचित्रले मनोरञ्जनसँगै युवालाई देशमै केही गर्न प्रेरित गर्ने बताइन् । माघ १८ बाट प्रदर्शनमा आउने चलचित्रमा विपिन र वर्षाका अलावा सुरक्षा पन्त, प्रकाश घिमिरे, भोला सापकोटा, अङ्कित खड्का, हिउँवाला गौतम आदिको अभिनय रहेको छ । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको चलचित्रलाई सामीप्यराज तिमल्सेनाले लेखेका हुन् । आरोही केसीको निर्माण रहेको चलचित्रमा श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् ।