नेपाली सिने जगतमा सधै चर्चामा रहने जोडीमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजको नाम अगाडी आँउछ । बिगत २२ महिना देखि एकअर्काको प्रेममा रहेका यी जोडी यहि आउने असारमा बिबाह बन्धनमा बाधिन्दै छन् । केही महिनाअघि यी दुईले इन्गेजमेन्ट गरिसकेका छन् । चलचित्रसगै पछिल्लो समय सामाजिक सेवामा सक्रिय रहेका आयुष्मान–प्रियंकाले ‘आयंका फाउन्डेशन’को घोषणा गरेका छन् । सोमबार राजधानीमा कार्यक्रम गर्दै आयंका फाउन्डेशनको औपचारिक सुरुवात भएको घोषणा गरिएको थियो । सरोज ओली मुख्य सल्लाहाकार रहने उक्त फाउन्डेशन बिशेषत बालबालिकाको शिक्षामा केन्द्रित रहने छ ।
अभिनेत्री प्रियंका कार्कीको अनुसार आयंका फाउन्डेशनले मुख्य बालबालिकाको शिक्षाको बिषयमा जोड दिनुको साथै यौन शिक्षा, महिनावारी सचेतना, सडकका बालबालिका, कुलत, मनोवैज्ञानिक बिषयमा परामर्श दिने, नेपालको दुरदराजमा रहेका अनाथ, असाहय, पीडित लगायतकालाई बिभिन्न गैरसरकारी सस्थाहरुसँग मिलेर काम गर्नेछ । ‘हामी आवाजमात्र बन्ने हो । हाम्रो आवाज धेरै सामु पुग्छ । यी सबै कामको लागी आयंका फाउन्डेशन माध्यम बन्ने छ ।
’ प्रियंका भन्छिन् । त्यस्तै सरकारबाट अनुमति प्राप्त भएसँगै हरेक साता आयंका फाउन्डेशनले टोल सफाई समेत गर्ने उनी बताउछिन् । ‘हामीसबै मिलेर हामी बस्ने घर, टोल , देश सफा गर्न जरुरी छ । जसको लागी हामीबाट नै सुरुवात गर्नु पर्छ । हरेक साता हामी कुनै एक टोल पुग्छौ र त्यहाँको सर्वसाधारणसँग मिलेर उक्त टोललाई सफा गर्ने छौ । ’कार्की भन्छिन् । त्यस्तै प्रियंका र आयुष्मानले आफ्नो कमाईको १० प्रतिशत फाउन्डेशनमा राख्ने जानकारी दिए । चलचित्र, म्युजिक भिडियो, स्टेज शो लगायतका बिभिन्न कामबाट आएको पारिश्रमिकमार्फत १० प्रतिशत फाउन्डेशनमा जाने छ । त्यस्तै बिभिन्न संस्थाहरुसँग मिलेर च्यारेटी कार्यक्रमहरु आयोजना गर्ने प्रियंका बताउछिन् ।