फिल्म ’समर लभ’ यही माघ २५ बाट प्रदर्शनको लागी तयार छ । रिलिज मिति दिन प्रतिदिन नजिकिँदा निर्माण टिम कलाकारको साथ लिएर प्रचार प्रसारलाई व्यापक बनाउँदै छ । पश्चिम नेपालदेखि मोफसल यात्रा सुरु गरेको ’समर लभ’ टिम पूर्वी नेपालसम्म पुगेको छ ।
टिमले यति बेला मोफसलका स्थानीय दर्शकसँग सिधा साक्षात्, मिडिया भेटघाट तथा युवापुस्ता लक्षित गर्दै कलेज क्याम्पियन तीव्र बनाईरहेको छ । पश्चिम नेपालको नेपालगन्जबाट मोफसल यात्रा सुरु गरेर दाङको तुलसीपुर र घोराही, बुटवल, चितवन, हेटौँडा, धरान, इटहरी, दमक, बिर्तामोडसम्म ’समर लभ’ टिम पुग्यो । लिड कलाकार आशिष पिया र रेवती क्षेत्री सहितको टिम मङ्गलवार पोखरा केन्द्रित प्रचारको लागी पोखरा पुग्दैछ ।
यो बीचमा फिल्ममा समावेश ’हेरन बाँझो मनभरी’ बोलको गीतको जिङ्गल सार्वजनिक गरिएको छ । पुष्पन प्रधानको संगीत तथा सुमित विश्वकर्माको स्वर रहेको सार्वजनिक सांगितिक सामग्रीमा आशिष र रेवतीका रोमाञ्चक पलहरु समावेश छन् ।

मुस्कान ढकाल निर्दे्शित फिल्मलाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहँदा एकराज तामाङ लाईन प्रोड्यूसरमा छन् भने सोपन सरकार र मनोज बिक सह( निर्माता हुन् । फिल्ममा आशिष र रेवतीको साथमा नम्रता सापकोटा, सुरजसिंह ठकुरी, सरोज खनाल, शिशिर भण्डारी, कविता रेग्मी, ओमप्रतिक गुरुङ लगायत अभिनयमा छन् ।सुबिन भट्टराईको चर्चित कृति समर लभमा आधारित यो फिल्मको ट्रेलरसँगै यसअघि सार्वजनिक ’साया’ बोलको गीतले उत्कृष्ट हाइप बनाइसकेको छ, सामाजिक सञ्जालमा लोकप्रियता बढ्दो हुँदा निर्माण टिम उत्साहित छ । उपन्यासलाई फिल्ममा ढाल्दा पटकथा भने सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवाद लेखनमा सामिप्यले सुबिनसँग साझेदारी गरेका छन् ।