गृष्मा ब्रोडकाष्टिडको आयोजनामा सप्तरङ्गु एक पृथक् साङ्गीतिक यात्रा हुने भएको छ। सद्भाव र ऐक्यवद्दताको मुख्य उद्देश्य सहित उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रममा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारहरूको छनोट गरिएको छ । यही आउँदो माघ १८ गते दमकबाट सुरु हुने यस कार्यक्रममा हरेक प्रदेश अन्तर्गत हुने कार्यक्रमको नेतृत्व सात फरक–फरक कलाकारले गर्र्नेछन् । जसमा प्रदेश नम्बर एकलाई गायक प्रमोद खरेलले प्रतिनिधित्व गर्नेछन् । आधुनिक गीतबाट चर्चित रहेका प्रमोदको पछिल्लो समय द भ्वाईस अफ नेपालको जजको रूपमा पनि देखिएका थिए । युवा देखी बृद्धबृद्धासम्मपनि प्रमोदको लोभलाग्दो क्रेज रहेको छ ।माघ १८ गते दमक स्थित दमक बहुमुखी क्याम्पसमा हुने सप्तरङ कार्यक्रममा प्रमोद प्रदेश नम्बर एकको प्रतिनिधित्व गर्नेछन् ।
प्रमोद जस्तै प्रदेश नम्बर दुईको प्रतिनिधित्व कलाकार सन्दीप क्षेत्रीले गर्ने छन् । माघ २० गते जनकपुरधाममा हुने कार्यक्रममा सन्दीपको कमेडीसँगै अन्य ६ कलाकारको प्रस्तुति रहने छ । ह्वाट्स द फ्लप कार्यक्रमसँगै चर्चामा रहेका सन्दीपको कमेडीको छुटै फ्यान फलोइङ रहेको छ । उनले निर्वाह गरेका मिठाईलाल जादव लगायतका पात्र हिट छन् । सन्दीप जस्तै प्रदेश नम्बर तीनलाई गायक रामकृष्ण ढकालले प्रतिनिधित्व गर्ने भएका छन् । माघ २२ गते नारायणघाटमा हुने कार्यक्रममा गायक रामकृष्ण ढकालको नेतृत्वमा अन्य कलाकारले प्रस्तुति दिने छन् । सुगम सङ्गीतमा चर्चित रहेका ढकालले कार्यक्रममा आफ्ना दर्जनबढि हिट गीतमध्येका प्रस्तुति दिने छन् । प्रदेश पाँच अन्तर्गतको कार्यक्रम बुटवलमा हुनेछ, माघ २४ मा । कार्यक्रमलाई गायिका इन्दिरा जोशीले प्रतिनिधित्व गर्नेछिन् । ‘उध्रेको चोली’ फेम गायिकाले बुटवललाई नचाउनेछिन् । विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलकी एक निर्णायक हुन् उनी । ‘नेपाली तारा’ बाट गायन क्षेत्रमा तानिएकी इन्दिरा स्टेज पर्फमेन्सको लागि पनि चिनिएकी छिन् ।
प्रदेश छ अन्तर्गत सुर्खेतमा कार्यक्रम हुनेछ, माघ २६ गते । कार्यक्रमको प्रतिनिधि अञ्जलि अधिकारीले गर्नेछिन् । प्रकाश सपूतको चर्चित गीत ‘बोल माया’बाट मोडलिङमा छाएकी अन्जलीले सुर्खेतलाई नचाउनेछिन् ।प्रदेश सात अन्तर्गत धनगढीमा हुने कार्यक्रमलाई तेक्वान्दो खेलाडी दीपक विष्टले प्रतिनिधित्व गर्नेछन् । कार्यक्रम माघ २८ गते हुनेछ । तेक्वान्दोको राष्ट्रिय खेलाडी दीपकले अन्तर्रा्ष्ट्रिय प्रतियोगिताबाट समेत नेपाललाई ख्याती दिलाइसकेका छन् ।
प्रदेश ४ अन्तर्गतको कार्यक्रम पोखरामा हुनेछन् । प्रतिनिधित्व गर्नेछन्, पशुपति शर्माले । लोकदोहोरी गायनका सर्वा्धिक सफल र चर्चित नाम हो, पशुपति शर्मा । कार्यक्रमको मिति तय गरिएको छ, फागुन २ गते । यस कार्यक्रमको सञ्चालन नायिका नम्रता सापकोटासँगै नरेश भट्टराई र बिबेक खतिवडाले गर्नेछन् । कार्यक्रम हेर्नेलाई भने कुनै टिकट वा शुल्क तिर्नु पर्नेछैन । माघ १८ गते दमकबाट सुरु हुने कार्यक्रम फागुन २ गते पोखरामा सकिनेछ ।