पछिल्लो समय युवापुस्तामा स्ट्याण्ड अप कमेडीको क्रेज बढ्दो छ । विशेषतः विभिन्न युट्युब च्यानलहरूमा प्रसारण भइरहेको स्ट्याण्ड अप कमेडीलाई हेरेर दर्शक रमाइरहेका हुन्छन् । स्ट्याण्ड अप कमेडीलाई प्रत्यक्षरुपमा अगाडी ल्याइरहेको नेपग्याजमको स्ट्याण्ड अप कमेडीको पाँचौँ श्रृङ्खला शनिवार काठमाडौँमा सम्पन्न भएको छ । राष्ट्रिय सभागृहमा आयोजित भएको उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको उपस्थिति रहेको थियो । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, किरण केसी, चर्चित गायक सत्यराज आचार्य, स्वरूप राज आचार्य, फुटबल खेलाडी रोहित चन्द शनिवार सभागृह पुगेका थिए । डोरेस खतिवडाको प्रस्तुतिबाट प्रारम्भ भएको स्ट्याण्ड अप कमेडी श्रृङ्खला लेखमणि त्रितलको प्रस्तुतिसँगै समाप्त भएको थियो । शनिवार दिउँसोबाट सुरु भएको उक्त कार्यक्रम हेर्ने दर्जनौँ युवा युवतीहरूको सहभागिता रहेको थियो । कार्यक्रमभर सभागृहमा ताली र हाँसो रोकिएको थिएन । कार्यक्रममा डोरेस खतिवडा, लेखमणि त्रिताल, विवेक उप्रेती, यूकेजी तथा सरोज भण्डारीले प्रस्तुति दिएका थिए ।