शुक्रबार अभिनेता अनमोल केसी अभिनित नयाँ चलचित्र ‘क्याप्टेन’को ट्रेलर रिलिज भयो । क्याप्टेनमा अनमोल एक फुटबल खेलाडीको रुपमा देखिएका छन् । ट्रेलरमा फुटबल खेलाडीको सपना, त्यसको लागी गरिएको मेहनत र संघर्षलाई देखाइएको छ । यतिबेला ट्रेलरले चौतर्फी प्रशंसा पाइरहेको छ । चलचित्रको ट्रेलरले २४ घन्टा नबित्दै ८ लाख बढि भ्युज पाउदै नयाँ रेकर्ड बनाएको छ ।

अनमोलको ट्रेलर रिलिज भएसी अर्का अभिनेता प्रदीप खड्काले ट्रेलर सेयर गर्दै अनमोलको तारिफ गरेका छन् । नेपाली चलचित्र क्षेत्रमा अनमोल र प्रदिपबिच केही बर्षदेखि स्टारडमको लडाई हुर्दै आईरहेको छ । यी दुई अभिनेता बिच राम्रो सम्बन्ध नरहेको हल्ला सिने नगरीमा चलिरहन्छ । केही महिनाअघि अनमोल र प्रदीप एक अवार्ड समारोहमा एकसाथ देखिएका थिए । यी दुईले हात मिलाउदै अंकमाल गरेका थिए । यतिबेला प्रदीपले अनमोलको ट्रेलर सेयर गरेपछि यी दुईको सम्बन्ध सुध्रिएको अनुमान लगाउन सकिन्छ । अझ प्रदीपले त अनमोल र आफु अब दाजुभाई भएको समेत लेखेका छन् । प्रदीप लेख्छन् ‘ अनमोल र म कलाकारको नाताले चलचित्र क्षेत्रमा मित्र थियौं । अब त, क्याप्टेनको ट्रेलर हेरेपछि दाजु भाइको सम्बन्ध पनि जोडिएछ । अनमोल केसी उर्फ इशान खड्का, अनी म प्रदिप खड्का ।’ फागुन १७ गते अनमोलको क्याप्टेन रिलिज हुदैँछ ।