हास्यव्यग्ङ्गमा सक्रिय रहेका कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ पछिल्लो समय समाजसेवामा सक्रिय छन् । यी दुईको धुर्मुस सुन्तली फाउन्डेन्सनले पछिल्लो समय समामाजिक कार्यमा सक्रिय रहेर चारवटा नमुना बस्ती निर्माण गरिसकेको छ । त्यस्तै गत साता मात्र काठमाडौँको राष्ट्रिय सभा गृहमा औपचारिक रूपमा अन्तर्राष्ट्रिय रंगलशाला बनाउने घोषणा गरेको थियो । चितवनको भरतपुरमा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन जुटेका धुर्मुस –सुन्तली यति बेला सहयोग रमक सङ्कलनमा लागिपरेका छन् । रकम सङ्कलनकै क्रममा सोमबार सिताराम र कुञ्जनालगायतका टिम कार्यक्रमको लागी मलेसिया प्रस्थान गरेको छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने घोषणा गरेसँगै पछिल्लो समय सामाजिक सञ्जालमा चर्चाको साथै आलोचनासमेत भएको छ । आलोचनालाई लिएर सोमबार एअरपोर्टमा सञ्चारकर्मीसँग साक्षात्कार गर्दै धुर्मुस भन्छन् ‘अघिल्ला परियोजनाहरू सीमित वर्गको लागी थिए जसको लागी हामीलाई सबैले साथ दिन भयो । यो परियोजना सम्पूर्णको खुसीको लागी हो । हामीले यति ठुलो बोझ उठाएका छौ जुन अबका पुस्ताको खुसीको लागी हो । खेलाडीको प्रोत्साहनको लागी, यो अन्तर्राष्ट्रिय रङ्गशाला खेलाडीहरूको जिउने आधार बनाउने छौ ।’

धुर्मुस थप्छन् ‘पछिल्लो समय सामाजिक सञ्जालमा रङ्गशालाबाट उठेका रकम कहाँ जान्छ भनेर प्रश्न गर्नु भएको छ । त्यो सम्पूर्ण रकम खेलाडीहरूको वृद्धि विकासको लागी जानेछ । उक्त परियोजनाबाट बचेको रकम निरन्तर सामाजिक कामको लागी खर्चिने छौ ।’ परियोजनाको लागी उठेको रकम आफ्नो व्यक्तिगत आवश्यकता पुरा गर्न कहिले प्रयोग नगरेको सिताराम बताउँछन् । त्यस्तै कुञ्जना भन्छिन् ‘हाम्रो कामलाई सधैँ हरेक नेपालीहरू साथ दिँदै आइराख्नु भएको छ । यस पटक पनि साथ दिनु हुनेछ । सहयोगको लागी हामीले कहिले जबरजस्ती गरेका छैनौँ । सबैले स्वइच्छाले सहयोग गरिरहनु भएको छ । यदि यसरी नै साथ,सहयोग मिल्यो भने तोकिएको अवधि भित्र नै अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्ने छ । ’