चलचित्र लभ स्टेशनको टिमले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई बुधबार दिउँसो उनकै डेर भक्तपुरमा भेटेर आर्थिक सहयोग गरेको छ । आगामी २२ चैतमा रिलिज हुने यो फिल्मका तर्फबाट उनलाई १ लाख रुपैयाँ सहयोग प्रदान गरियो । लभ स्टेशनका तर्फबाट अभिनेता प्रदीप खड्कासहित अभिनेत्री जसिता गुरुङ, लभ स्टेशनका निर्माता गोविन्द शाही र सो चलचित्रका संगीतकार एलिस कार्कीले मेघालाई उनकै घरमा गएर भेटेका हुन् ।

प्रदीप र जसिताले गरे मेघालाई एक लाख सहयोग 

दुबै हात गुमाएकी मेघाको हात राख्नको लागि आर्थिक सहयोगको आबश्यक्ता परेको पीडा सुनेपछि अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ, निर्माता गोविन्द शाही र संगीतकार एलिसले चलचित्र लभ स्टेशनका तर्फबाट १ लाख रुपैयाँ प्रदान गरे । कलाकार शिषिर भण्डारीले जम्मा गरेर ४ लाख सहयोग पनि सोही क्रममा अभिनेता प्रदीप खड्काले मेघालाई प्रदान गरे । चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । लभ स्टेशनमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन्  ।