दशक अगाडीको हिट चलचित्र ‘साइनो’को नाम सापटी लिँदै निर्माण भएको चलचित्र ‘साइनो’को नयाँ गीत सार्वजनिक भएको छ । नेपालीकी प्रथम नायिका भुवन चन्दले निर्माण गरेको चलचित्रको पहिलो गीत ‘मायालुलाई जात्रैमा भेटियो’ सार्वजनिक भएको हो । सोमबार राजधानीमा आयोजित कार्यक्रम बिच चलचित्रको गीत सार्वजनिक गरिएको थियो । ज्येष्ठ १० गते प्रदर्शन मिति सार्वजनिक गर्दै चलचित्रको गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर रहेको छ । भिडियोमा चलचित्रकी मुख्य नायिका मेरुना मगर र नायक राज कुमारको नृत्य रहेको छ । गीतमा वसन्त सापकोटाको सङ्गीत रहेको छ भने चेतन कार्कीको शब्द रहेको छ । भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । चलचित्र साइनोलाई रमेश थापाले निर्देशन गरेका हुन् । चलचित्रमा नीता ढुङ्गाना, मेरुना मगर, राज कुमार, भुवन थापा चन्द, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, धमेन्द्र आचार्य, विशाल पहाडी, बसुकला मैनाली लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा अभिमन्यु निरवीको कथा रहेको छ भने रामेश्वर कार्कीको छायाङ्कन रहेको छ । चलचित्रलाई बनिष शाहले सम्पादन गरेका हुन् ।