चलचित्र ‘लिलिबिली’बाट चर्चामा रहेका जोडी प्रदीप खड्का र जसिता गुरुङको नयाँ चलचित्र ‘लभ स्टेशन’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौँमा आयोजना भएको एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । ट्रेलरमा प्रदीप र जसिताबिचको केमेष्ट्रीलाई देखाइएको छ ।
चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । चलचित्र भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् ।
अभिनेता प्रदीप खड्काले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा लभ स्टेशनमा आफ्नो काम केही पृथक रहेको बताएका छन् । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।