नायिका वर्षा सिवाकोटी अभिनीत सिनेमाहरू बक्स अफिसमा खासै सफल छैनन् । नाई न भन्नु ल २ बाट सिने नगरीमा डेव्यु गरेकी वर्षाले आधा दर्जन बढी सिनेमा काम गरिसकेकी छिन् । तर उनले अभिनय गरेका सिनेमाहरूले अपेक्षित रूपमा व्यापार गर्न सकेका छैनन् । उनी अभिनीत नयाँ सिनेमा ‘पुरानो बुलेट’ यही चैत्र १ गतेबाट प्रदर्शन हुदैँछ । जसको लागी वर्षा आशावादी देखिन्छन् । भन्छिन् ‘पुरानो बुलेटको कथा प्रति विश्वास छ । जसरी पूर्वको समाजलाई यो सिनेमामा देखाइएको छ, त्यहाँ प्रेम, द्धन्द्ध र पारिवारिक कथालाई समेटिएको छ।’ वर्षा पछिल्लो समय सिनेमा बजार अनुमानित नरहेको बताउँछिन्।
उनी भन्छिन् ‘नेपालमा मात्र नभई हलिउड र बलिउडमा समेत पछिल्लो समय कस्तो सिनेमा चल्छ भन्ने अनुमान गर्न सकिन्न । अहिले स्टारका सिनेमा भन्दाबढि राम्रा कथामा बनेका सिनेमाहरू सफल भएका छन् ।’ उनी थप्छिन् ‘सिनेमा चल्नुमा कलाकारको मात्र हात हुँदैन, त्यसमा एउटा पूर्ण टिमको मेहनत हुन्छ । सिनेमा बनिसकेपछि प्रचारप्रसार पनि बढी ध्यान दिनु पर्छ । जुन कुरामा हामी आफै चुकेका छौ ।’ सिनेमा नचलेर कलाकारलाई मात्र दोष दिनु गलत रहेको बताउँछिन् । पुरानो बुलेटलाई सञ्चारकर्मी भीषण राईले निर्देशन गरेका हुन् । यो सिनेमामा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोक कुमार राई, टिका राम राई लगायतका कालकारको अभिनय रहेको छ । सिनेमामा कथा तथा पटकथा निर्देशक राईको र कार्यकारी निर्माता सन्तोष राईले लेखेका हुन् सिनेमालाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयुक्त रूपमा निर्माण गरेका हुन् । सिनेमामा हरि घले लामाको छायाङ्कन, उत्तम जङ्ग लिम्बु र जयन जे. वाइवाकोे सङ्गीत, राजेश पायल राई, मेलिना राई, जयन जे. वाइवा र उत्तम जङ्ग लिम्बुको गायन रहेको छ ।