आज शुक्रबार कुनै चलचित्र हेर्ने योजनामा हुनुहुन्छ भने आजबाट तीन नेपाली चलचित्रहरु प्रदर्शनमा आएका छन् । जसमा ‘द म्यान फ्रम काठमाडौँ, पुरानो बुलेट र जानी नजानी’ रहेका छन् । मल्टीप्लेक्स अन्तर्गतका क्युएफएक्स चेनमा चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ ले कब्जा जमाएको छ । नकिम उध्धीनको निर्माणमा रहेको चलचित्रले हिजो गरिएको प्रिमियरमा मिश्रित प्रतिक्रिया बटुलेको छ। बिदेशी कलाकारको बाहुल्यता रहेको चलचित्रको लगानी ५ करोड माथी रहेको छ । अन्तराष्ट्रिय बजारलाई केन्द्रित गरेर निर्माण गरिएको चलचित्र नेपाली(अंग्रजी दुवै भाषामा निर्माण गरिएको छ ।

क्यूएफएक्स सिनेमाजले चलचित्रलाई अत्याधिक शोज दिएको छ। शोज संख्या हेर्दा चलचित्रले नेपाली बक्स अफिस चलायामन बनाउन पर्ने देखिन्छ। कमजोर प्रचार प्रसारको बीच रिलिज भएको चलचित्रले कस्तो प्रतिक्रिया बटुल्ने हो त्यो भने हेर्न बाँकि छ। पेमा डोन्धुपको निर्देशनमा तयार भएको चलचित्रमा जोसे म्यान्युल, आन शर्मा, गुलसन ग्रोवर, हमिद शेख, शिशिर वाग्देल, कर्म, निर शाह लगायतका कलाकारको अभिनय रहेको छ।

यो चलचित्रका साथमा अन्य दुई नेपाली चलचित्र रिलिज भएका छन्। भिषण राईको निर्देशनमा तयार भएको चलचित्र ‘पुरानो बुलेट’ मा अनुप विक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बु मुख्य भूमिकामा रहेका छन्। अशोक कुमार राई, टिका रमा राई,विरेन सम्बा र दिपेन लिम्बु निर्माता रहेको चलचित्रमा सन्तोष राई कार्यकारी निर्माता रहेका छन्। ह्यान्डसम भिलेन अनुप, पछिल्लो समय चर्चामा रहेकी बर्षा र मालाको चलचित्रलाई दर्शकले कस्तो प्रतिक्रिया दिने हुन् त्यो हेर्न बाँकी छ।

लभ स्टोरी चलचित्र ‘जानी नजानी’ आजबाट रिलिज भएको छ। वसन्त अधिकारीको निर्देशनमा तयार भएको चलचित्रमा मनिश श्रेष्ठ, निरिशा वस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहेका छन्। रोशनी केसी प्रस्तुतकर्ता रहेको चलचित्रमा सागर काजि माली र मोदनाथ खनाल निर्माताको रुपमा रहेका छन्।