चैत्र २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर ३’को दोस्रो गीत सार्वजनिक भएको छ । लोक लयमा रहेको ‘पराना’ बोलको गीत शुक्रवार युट्युब मार्फत सार्वजनिक भएको हो । गीतमा चलचित्रका नायक अनमोल केसी र नव–नायिका सुहाना थापाले ठुम्का लगाएका छन् । सार्वजनिक गीतमा आशिष् अविरल र अन्जु पन्तको स्वर रहेको छ भने आनन्द अधिकारीको शब्द रहेको छ । गीतमा सङ्गीत गायक अविरल स्वयंमको रहेको छ । बिहेको माहौललाई कैद गरिएको गीतमा अनमोल र सुहानाको साथमा नायक सलोन बस्नेतसँगै चलचित्रका अन्य कलाकारहरू फिचर्ड छन् । भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् ।

म्युजिकल लभ स्टोरीमा बनेको चलचित्रमा अनमोल एक म्युजिसियनको भूमिकामा प्रस्तुत हुदैँछन् । चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा अनमोल, सुहाना र सलोनको अलावा अर्पण थापा, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाइ सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा कथा झरना र सुमन पौडेल मिलेर लेखेका हुन् । सञ्जय लामाको छायाँकन रहेको चलचित्रमा द्धन्द्ध रोशन श्रेष्ठको रहेको छ भने सम्पादन दिर्घ खड्काको रहेको छ ।