शुक्रवार रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’को दोस्रो गीतले नयाँ रेकर्ड बनाएको छ । अभिनेता अनमोल केसी र नव–नायिका सुहाना थापाले कम्मर मर्काएको लोकलयको गीत ‘पराना’ले २४ घण्टा नबित्दै १० लाख भ्युज पाउन सफल भएको छ । नेपाली गीत–सङ्गीतमा भने यो नयाँ रेकर्ड हो । आजसम्म कुनै पनि नेपाली चलचित्रको गीतले २४ घण्टा नपुग्दै १ मिलियन भ्युज पाएको रेकर्ड छैन । यही आउँदो चैत्र २९ गते रिलिज हुन लागेको चलचित्र ए मेरो हजुर ३ को गीतमा गीतमा आशिष् अविरलको सङ्गीत, आनन्द अधिकारीको शब्द तथा आशिष् अबिलर र अन्जु पन्तको स्वर रहेको छ । भिडियोलाई प्रवीण सिंहले कोरियोग्राफी गरेका हुन् ।
म्युजिकल लभ स्टोरीमा बनेको चलचित्रमा अनमोल एक म्युजिसियनको भूमिकामा प्रस्तुत हुदैँछन् । चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा अनमोल, सुहानाको अलावा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा कथा झरना र सुमन पौडेल मिलेर लेखेका हुन् । सञ्जय लामाको छायाङ्कन रहेको चलचित्रमा द्धन्द्ध रोशन श्रेष्ठको रहेको छ भने सम्पादन दिर्घ खड्काको रहेको छ ।