गत बुधवार राजधानीमा धूमधाम कार्यक्रम गर्दै चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर रिलिज कार्यक्रम आयोजना गरियो । कार्यक्रममा ट्रेलर देखाइएसँगै चलचित्रकी निर्देशक साथै अभिनेत्री झरना थापाको जन्मदिन मनाइएको थियो । तर प्राविधिक कारणले सोही दिन ट्रेलर भने युट्युबमा सार्वजनिक हुन सकेन । उक्त कार्यक्रम मार्फत नै निर्माण टिमले भोलिपल्ट यानिकि बिहीबार १ बजे ट्रेलर युट्युबमा सार्वजनिक गरिने घोषणा गरेका थिए ।

भोलिपल्ट पनि तोकिएको समयमा ट्रेलर रिलिज भएन । प्राविधिक कारणले गर्दा ट्रेलर युट्युबमा सार्वजनिक नभएपछि चलचित्रका मुख्य नायक अनमोल केसीले फेसबुकमा शत्रु लागेको सम्म लेख्न भ्याए । अन्ततः ट्रेलर साँझ करिब ५ बजे युट्युबमा सार्वजनिक भयो । यसबर्षको अन्त्यमा रिलिज हुने यो चलचित्र बहुप्रतीक्षित मानिएको छ । चलचित्रको ट्रेलर रिलिज भएको १ घण्टा नबित्दै १ लाख बढिले हेरिसकेका थिए । यो समाचार प्रकाशित गर्नुअघि ट्रेलरलाई करिब ५ लाख ५० हजार बढिले हेरिसकेका छन् । त्यस्तै ट्रेलरले ७ हजार बढी प्रतिक्रिया पाइसकेको छ भने ४२ हजार लाईक पाएको छ र १४ सय डिसलाइक पाएको छ ।

७ हजार प्रतिक्रियामा अधिकांशले अनमोल र सुहानाको जोडीको तारिफ गरेका छन् । त्यस्तै अभिनेत्री झरना थापाकी छोरी सुहाना थापाको अभिनयले प्रशंसा बटुलेको छ । सुहानाको यो डेव्यु चलचित्र हो । ट्रेलरमा सुहानाले बोलेको केही संवादले तारिफ बटुलेको छ । त्यस्तै ट्रेलरमा अनमोल डबल भूमिकामा देखिएका छन् । उनी एउटा भूमिकामा सुपरस्टार गायकको रूपमा देखिएका छन् भने अर्को भूमिकामा साधारण गाउँलेको भूमिकामा देखिएका छन् । यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । सुहाना थापाको होम प्रोडक्सनबाट निर्माण भएको चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यसअघि उनीद्धारा निर्देशित ‘ए मेरो हजुर २’ हिट भएको थियो । यो चलचित्र चैत्र २९ गतेबाट प्रदर्शनमा आउँदै छ ।