चलचित्र कलाकार संघको महाधिवेशन स्थगित भएको छ ।चैत २३ गते हुने भनिएको महाधिवेशन फर्जी सदस्यता वितरण गरेको उजुरी परेपछि स्थगित भएको हो । कलाकार सुरज आरडीले वर्तमान कार्यसमितीले गैर कलाकारलाई नयाँ सदस्यता वितरण गरेको भन्दै केही दिन अगाडि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरेका थिए । मुद्धाको सुनवाई गर्दै दुई पक्षको छलफल निष्कर्षमा नपुगेको भन्दै आइतबार जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्म संघको अधिवेशन रोक्न आदेश दिएको हो । कलाकार संघको आगामी अध्यक्ष पदको लागि सरिता लामिछाने र लय संग्रौलाले अध्यक्षमा उम्मेदवारी दिएका छन् भने केही पदमा पनि उम्मेदवारी घोषणा भइसकेको छ । कलाकार संघको सदस्यता सम्बन्धी नियम मिचेको आरोप लगाउँदै कलाकार आरडीले जिल्ला प्रशासन कार्यालयमा लामिछानेविरुद्ध उजुरी दिएका हुन् । उनले लामिछानेमाथि दुईवटा फिल्ममा मात्र अभिनय गरेर सदस्यता प्राप्त गरेको आरोप लगाएका छन् । संघको नयाँ विधानमा भने पाँचवटा फिल्ममा अभिनय गर्नुपर्ने प्रावधान राखिएको छ ।
२० जनाभन्दा बढीले उम्मेदवारी दर्ता गरिसकेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट तत्काल चुनाव स्थगित गर्न आदेश आएको थियो । संघले दर्ता भइसकेको मनोनयन फिर्ता गर्ने भएको छ ।