गत आइतबारको हावाहुरीको बिपतमा परेर जनधन गुमाएका बाराका पिडितहरुलाई सहयोग गर्नेहरु सबैतिरबाट जुटिरहेका छन् । यसै गरी नेपाली रजतपटका सहयोगी मनहरु पनि आ-आफ्नो ठाउँबाट सहयोगमा जुटिरहेका छन् ।यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउन लागेको अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेशन’ टिम पनि यतिबेला यस बिपतमा सहयोग गर्न जुटेको छ । सोमवार काठमाडौंमा पत्रकार भेटघाट गर्दै ‘लभ स्टेशन’ का प्रस्तुतकर्ता गोविन्द शाही र प्रदीपले बारा जिल्लाका हावाहुरी पीडितहरुलाई ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

बारा जिल्ला 'बिपत ब्यबस्थापन कोष' मार्फत् सो रकम पीडितहरुका लागि सहयोग गरिने अभिनेता प्रदीपले बताए । बाराका जिल्ला प्रशासन प्रमुखसँग सम्पर्क गरी पीडितहरुलाई राहत तथा अन्य सहयोगका लागि अभिनेता प्रदीपले अपिल पनि गरेका छन् । निर्माता गोविन्द शाहीले पनि पीडितलाई सहयोगका लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । 
करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई एक लाख र ४५ जना अनाथ बालबालिकालाई पढ्नका लागि लाग्ने भर्नासहित तीन महिनाको मासिक शुल्क प्रदान गरिसकेका लभ स्टेसन टिमले  सबैले आफ्नो ठाउँबाट आफुले सक्दो सहयोग गर्न अनुरोध समेत गरेका छन् ।
‘लभ स्टेशन' लाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् भने प्रदिप्, जसिता गुरुङ  रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल लगाएत कलाकार्को अभिनय रहेको छ ।