तपाईँ एस्इइ दिएर बस्नु भएको छ अनि मोडलिङमा आफ्नो भविष्य देख्नुभएको छ भने तयार रहनुस् ‘मिस्टर एण्ड मिस एसईई क्यापिटल’को दोस्रो सस्कंरणको अडिसन यही चैत २३ गते शनिबारबाट सुरु हुने भएको छ । क्यापिटल मिडिया ग्रुपले आयोजना गर्दै आएको सो प्रतियोगिताको पहिलो अडिसन शनिबारदेखि क्यापिटल एफएमको कार्यालय थापागाउँमा सुरु हुने भएको हो । 
‘मिस्टर एण्ड मिस एसईई क्यापिटल सिजन २’ को लागि आवेदन दर्ता भैरहेको आयोजकले बताएको छ । प्रतियोगितामा सहभागिले व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गर्न सक्ने र अभिनय, सञ्चार र चलचित्र क्षेत्रमा स्थापित हुने बाटो समेत खोल्ने आयोजकको विश्वास छ । 

 

प्रतियोगीतामा विभिन्न क्षेत्रमा ख्याति प्राप्त प्रशिक्षक र कलाकारले एक महिनासम्म प्रशिक्षण दिने ब्यवस्था मिलाईएको छ । यसैगरी प्रशिक्षणमा प्रतियोगीलाई अभिनय र फेसनसंग सम्बन्धित तालिम, व्यक्तित्व विकास, भाषण कला, फोटो सेसन, स्टेज पर्फमेन्स, विपद् व्यवस्थापन तालिम, जीवन उपयोगी तालिमलगायतका विषयमा दक्ष व्यक्तित्वहरुले प्रशिक्षण दिइनेछ ।
प्रतियोगिताको विजेतालगायत अन्य उत्कृष्ट सहभागिलाई सौन्दर्य प्रतियोगिता, चलचित्र, म्यूजिक भिडियो, विज्ञापन, फेसन शो, मिडिया प्रोमोशन आदिमा अवसर प्रदान गरिनेछ । विजयी हुने प्रतिस्पर्धीले प्लस टुको लागि कुनै पनि विषयमा छात्रवृति पाउनको साथै नगद पुरस्कार रु । एक लाखबराबरको चलचित्र अध्ययन सम्बन्धी कोर्ष गर्ने अवसर पाउनेछन् ।