शत्रु गतेको सफलतापछी केहि समयको विश्राम लिएर फेरी महसंचारले नयाँ चलचित्र ‘दाल भात तरकारी’ निर्माण गरेको छ। बैशाख २० देखी देश व्यापी प्रदर्शनमा आउन लागेको चलचित्र टिम यति बेला प्रचारप्रसारको दौरानमा लागेको छ । प्रचारप्रसारलाई अगाडी बढाउन ‘दाल भात तरकारी’ टिमले मोफसल यात्रा गर्ने तयारी गरिरहेको छ । प्रस्तुतकर्ता किरण केसीका अनुसार मोफसलका दश शहरमा कन्सर्ट र पत्रकार भेटघाट कार्यक्रम हुनेछन् ।
‘दाल भात तरकारी यात्रा’ नाम राखिएको टुर अन्तर्गत निर्माण पक्षले दिएको जानकारी अनुसार, चैत्र २५ गते बिर्तामोडबाट सुरु भएर , चैत्र २६ मा दमक, चैत्र २७ मा इटहरी, चैत्र २८ मा हेटौंडा, चैत्र २९ मा चितवन, चैत्र ३० मा वुटवल, वैशाख १ गते नेपालगञ्ज, वैशाख २ गते दाङ र वैशाख ४ मा पोखरामा कन्सर्ट आयोजना गरी समापन हुनेछ । यो टुरमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, आँचल शर्मा, पुष्प खड्काको साथमा गायिका जुनु रिजाल सहभागी हुनेछन् । छिटै नै ट्रेलर सार्वजनिक गर्ने तयारीमा लागेको चलचित्रको गीत सङ्गीताले चर्चा कमाइरहेको छ । यसमा किरण केसीको प्रस्तुती रहेको छ भने सुदन केसीको निर्देशन रहेको छ ।