समग्रमा हेर्दा २०७५ नेपाली चलचित्र क्षेत्रको लागि त्यती नफापेको भन्न सकिन्छ । सयको हाराहारीमा चलचित्र प्रदर्शनमा आए पनि बक्स अफिसमा राम्रो कलेक्सन गर्न सफल चलचित्र औँलामा गन्न सकिने मात्रै छन् । नेपाली चलचित्रको दुर्भाग्य नै भन्नु पर्छ करोडौँको लगानी गरेर चलेका कलाकारलाई लिएर बनाइएका चलचित्रले पनि आफ्नो लगानी सुरक्षित गर्न सफल भैरहेका छैनन् ।

यसैविच, 'बक्स अफिस फिल्म क्लब नेपाल'ले यो बर्ष रिलिज भएका मध्यबाट १२ चलचित्रलाई ‘ब्लकबस्टर अवार्ड २०७५’बाट सम्मान गर्ने भएको छ । बक्स अफिस क्लब नेपालका आर.के सुवेदीका अनुसार १२ चलचित्र र ३ चलचित्र पत्रकारलाई सम्मान गरिने भएको हो । लिलिबिली, छक्का पन्जा ३, जय भोले, बबी, नाई नभन्नु ल ५, कायरा, इन्टु मिन्टु लण्डनमा, भैरे, रामकहानी, चंगाचेट, प्रसाद, क्याप्टेन ले अवार्ड हात पार्न सफल भएका छन् । यसैगरी ‘अग्रज पत्रकारिता पुरस्कार २०७५’बाट पत्रकार डब्बु क्षेत्री, लक्ष्मण सुवेदी, सवी कार्की सम्मानित हुने भएका हुन् ।