समग्र नेपाली चलचित्र क्षेत्रको लागी २०७५ खासै फापेको मानिँदैन । कम्तिमा १० प्रतिशत चलचित्रले आफ्नो लगानी शुरक्षित गरेका छन् भने बाँकीले हलामा दर्शक कुरेर बस्नु सिवाय केहि उपलब्धी हात पारेनन् ।
यसैगरी वर्षको अन्तिममा प्रदर्शन भएका दुइ चलचित्रको यतिबेला घम्साघम्सी परिरहेको छ । चलचित्र प्रदर्शनमा आउनुअघी देखी नै विवादमा तानिएका चलचित्र 'यात्रा' र 'ए मेरो हजुर ३' यतिबेला प्रदर्शन भैरहेका छन् । झरना थापाले निर्देशन गरेको चलचित्र 'ए मेरो हजुर ३' ले प्रीमियार मै राम्रो प्रतिकृया पाएको थियो । डेब्यु नायिका सुहाना थापा अभिनित यस चलचित्रमा अनमोल केसीलाई कास्ट गरिएको छ । चलचित्र हेरेका दर्शकले सुहानाको अभिनयको प्रशंसा गरेका छन् । चलचित्रले शुक्रबार नै बक्सअफिसमा आक्रामक सुरुवात गरेको छ । पहिलो दिन फिल्मले बम्पर ओपनिङ गरेको बताउँदै वितरक मनोज राठी भन्छन् फस्ट डे' अकुपेन्सी 'छक्का पञ्जा ३' कै आसपास रहेको थियो । राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगालगायतका हल बिहानैदेखि हाउसफुल रहेको वितरक राठीको भनाई छ । मल्टीप्लेक्स क्यूएफएक्स चेनमा मात्र फिल्मको अकुपेन्सी बिहानदेखि ८० प्रतिशतमाथि रहेको थियो । नयाँ वर्ष पर्नु अनि ओपनिङमै राम्रो ७०/८० को अकुपेन्सी हात पार्नु चलचित्रको लागी शुभ मानिएको छ ।
फिल्म 'क्याप्टेन'बाट अपेक्षा गरिएको सफलता हात नपारेपछी चलचित्र ' ए मेरो हजुर ३' चल्नै पर्ने दवाब छ। झरना थापा निर्देशित फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् । सलोन बस्नेत, अर्पण थापा, सरोज खनाललगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।