नेपाली चलचित्रका विषयमा बहस छलफल कमै हुने गर्छन् जसका कारण पनि चलचित्र निर्माण पक्ष महासंघ, चलचित्र पत्रकार बिचको समन्वय कम हुने गरेको छ । यसको प्रतिफल समग्र नेपाली चलचित्र, यसको गुणस्तर र नेपाली चलचित्रलाई माया गर्ने दर्शकमा एक प्रकारको असन्तुष्टीको सृजना हुन्छ । वर्षै पिच्छे सम्मेलन हुनु, समय समयमा चुनाब हुनु, नयाँ प्रथिनिधी पनि छानिनु, अनि पाना पाना वक्तव्य सार्वजनिक गरिनुले मात्र चलचित्रसंग सम्बन्धित निकायहरु सक्रीय भएको मान्न मिल्दैन । चुनाबका बेला पस्किने दस्ताबेजहरुलाई कार्यान्वयन गर्ने हो भने नेपाली चलचित्रलाई हेर्ने नजर यसको गुणस्तर अनि चलचित्रमा आफ्नो भविष्य देख्ने पुस्ताको लागी बाटो सहज हुने छ ।
यसैबिच चलचित्र पत्रकार संघको आयोजना तथा चलचित्र निर्माता संघको सहकार्यमा काठमाण्डौको बसुन्धरामा ‘चियापान तथा चलचित्र क्षेत्रको बेथिती’को विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ । चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय लगायतको उपस्थिती थियो । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा बिथिति, अविस्वास र खुट्टा तान्ने प्रवृती मौलाएको छ । इमानदारितालाई गुलामी बनाउँदै एकर्कामा बैमनस्यता मोलिरहेका छन् । यसै विषयलाई निर्मुलन गर्दै पारदर्शिता कायम गरिनु पर्ने कुरामा कार्यक्रममा उपस्थित अतिथीहरुले जोड दिए ।
चलचित्र पत्रकारका तर्फबाट पत्रकार तथा चलचित्र पत्रकार संघका सचिव समिर बलामीले अवधारण पत्र प्रस्तुत गरेका थिए । यसैगरी कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईले आफ्नो कार्यकालमा बक्सअफिस लागू गरेरै छाड्ने प्रतिवद्धता व्यक्त समेत गरे, आउँदो साउन महिनाभित्र देशभरका हलमा बक्सअफिस परिक्षण समेत गर्ने बताए । उनि भन्छन् , 'चलचित्र क्षेत्रमा इमान्दारिताको खडेरी छ यसकासाथै सबैभन्दा पहिले राष्ट्रिय चलचित्र नीति पारित गर्नतर्फ ध्यान दिनुपर्छ' । बोल्ने क्रममा चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयले अहिले चलचित्र क्षेत्रमा धेरै बेथिती तथा समस्याहरु भएको बोले । उनले चलचित्रकर्मीहरु सबैको मानसिकतामा समस्या भएको बोलेका छन् । उनले भने–‘पहिलो कुरा त हामी केही कसैमा सद्भाव नै राख्दैनौँ, सहयोगको भावना राख्न छाडेका छौँ, हामीमा मानवता भन्ने चिज नै हराएको छ । चलेको चलचित्रलाई चलेको स्विकार्न नसक्नु तथा नचलेको चलचित्रलाई बढाई चढाई भन्ने गुटबन्दीको समस्या पनि अहिले यस क्षेत्रले भोगिरहेको छ ।’ चलचित्र क्षेत्रमा बिद्यामान बिथिती बारे थप बोल्दै उदयले भने ‘बर्षमा ३ वटा चलचित्रले नाफा कमाएका छन्, अरु सबैले लगानी सुरक्षित गर्न सकेका छैनन् तर पनि कलाकारहरुले आफ्नो पारिश्रमिक घटाउन चाहँदैनन् यो कुराले पनि समस्या दिइरहेको छ ।’
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार भ्रामक समाचारकै भरमा फिल्ममा लगानी गर्नुभन्दा पहिले बजार बुझ्नुपर्ने सुझाब दिए । चलचित्र क्षेत्र बिँग्रदो अवस्थाको जिम्मेवार कलाकारहरु पनि रहेको बताउँदै उनले भने- 'चलचित्र क्षेत्र बिँग्रदो अवस्थामा पुग्नुको कारण कलाकारले आफू को हुँ भन्ने चिन्न नसक्नु पनि हो । हाम्रा कलाकारहरु जहाँ पनि सजिलै उपलब्ध हुन्छन् । जुनसुकै माध्यममा सजिलै भेटिन्छन् । अनि तिनै कलाकारलाई हेर्न हलमा गएर दर्शकले टिकट किन काट्छन् ?' चलचित्र संघका अध्यक्षले नै यि सब बोल्नु पर्ने स्थिती यसै आएको भने होइन । कलाकार भनेको त्यस्ता व्यक्ति हुन् जसलाई पर्दामा हेरेर दर्शकले उसको जिवन र बाँच्ने परिवेशलाई आफ्नो मानस्पटलामा जन्माउँछ । तर सरसर्ती सामाजिक संजालामा नजर लगाउने हो भने कलाकारले आफुलाई खुल्ला किताब बनाइदिएका छन् । सामाजिक संजालको बढ्दो पहुँच, अनि युट्युबजस्ता माध्यमको बढ्दो लोकप्रियताले गर्दा पनि कलाकारको जिवन शैली र दैनिकी दर्शकको लागी कुनै नौलो कुरा नभएको हो ।
चलचित्र क्षेत्र भनेको न कुनै एक कलाकारको जिम्मको हो न कुनै संघको अध्यक्षको, न निर्माता निर्देशको, न बितरकको न पत्रकारको । यो त एउटा यस्तो संस्था हो जहाँ चलचित्र हरेकले आफ्नो ठाउँमा इमान्दार भएर लाग्ने हो भने आज कायम भएको बिथिती र विसङ्गती जरैबाट न्निर्मुल पार्न सकिन्छ । तर हरेक ठाउँमा आफ्नो अधिपत्य जमाउने प्रवृती अनि ठुलो धन खर्च गर्न सक्नेको बोली बिक्ने संस्कृती नहटेसम्म सभा समारोह र भाषण अनि प्रतिबद्दताले कुनै काम गर्ने छैन ।