सुस्ताउँदै गएको नेपाली चलचित्रको व्यापार २०७५ सालको अन्तिममा आएर चलचित्र 'ए मेरो हजुर ३' को प्रदर्शनसँगै जुर्मुराएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले राम्रो व्यापार गरिरहेको छ । मङ्गलबार ‘ए मेरो हजुर ३’को चार दिने रिपोर्ट सार्वजनिक गरिएको छ । चलचित्रका वितरक मनोज राठीका अनुसार शुक्रबार ७५ लाख, सनिबार १ करोड १४ लाख र आइतबार १ करोड ५० लाख गरी विकेण्ड कलेक्सन ३ करोड ३९ लाखको व्यापार गरेको छ । यसैगरी ,सोमबार ६२ लाखको कारोबार गरेको छ । यसर्थ, चार दिनमा चलचित्रले ४ करोड १ लाख कमाएको छ । ओपनिङमै राम्रो सुरुवात गरेको चलचित्रले नयाँ वर्ष र बिदाको मात्र साथ पाएन सोमबार मङ्गलबार पनि दर्शकको फ्लो उत्तिकै पायो ।
झरना थापाको निर्देशनमा बनेको दोस्रो चलचित्र 'ए मेरो हजुर ३' मा अनमोल केसी र साथमा निर्देशक थापाकी छोरी सुहाना थापाको मुख्य भूमिका रहेको छ । साङ्गितिक प्रेम कथामा आधारित चलचित्रलाई दर्शकले मन पराएसँगै डेब्यु नायिका सुहानाको भविष्य चलचित्र क्षेत्रमा चम्किने आशा पनि पलाएको छ । सुनिल कुमार थापाले निर्माण गरेको 'ए मेरो हजुर ३' मा अनमोल केसीको डबल रोल रहेको छ ।