झरना थापाको दोश्रो निर्देशन, सुहाना थापाको डेब्यु अनि अनमोलको प्रतिक्षित चलचित्र 'ए मेरो हजुर ३' २०७६ सालको नयाँ वर्ष पारेर प्रदर्शनमा ल्याइएको चलचित्र हो । २०७५ सालमा सुस्ताएको नेपाली चलचित्रमा प्रदर्शनको दिन देखी नै तरङ्ग ल्याएको चलचित्रको दोस्रो हप्तामा प्रवेश गर्दा पनि माहोल सेलाएको छैन ।
यो साता कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएका छैनन् भने प्रतिस्पर्धामा एकसाथ रिलिज भएको 'यात्रा' सँग मात्र प्रतिस्प्पर्धा चलिरहनुले पनि 'ए मेरो हजुर ३ लाई केहि हदसम्म साथ दिएको हुनुपर्छ । तर यसका साथै बुधवार प्रदर्शनमा रोक लगाइएको प्रतिक्षित बलिउड चलचित्र 'कलंक' प्रदर्शन भैरहेको छ । सिङ्गल र मल्टिप्लेक्स दुबै हलमा दर्शकको चाप नघटेको र कलंकको प्रदशनले कुनै असर नपारेको भनिएको छ । म्ल्टिप्लेक्समा पाएको उच्च सो र सिङ्गल हलहरुमा शुक्रबार र शनिबार बढेको दर्शकको चाप हेर्दा 'ए मेरो हजुर ३' सो दबदवा अझै कायम रहेको बुझिन्छ । यो सफलतासँगै चलचित्र सुपरहिटको सुचिमा दर्ता भएको छ ।
यसैबिच नायक अनमोल केसी, नायिका सुहाना थापा, निर्देशक झरना थापा लगायतको टिम शनिबार काठमाण्डौको गोपीकृष्ण मुभिजमा पुग्दा अनमोल र सुहानालाई दर्शकको भिडबाट उम्किन धौ धौ परिरहेको थिएए भने अनमोलका फ्यानहरु रुँदै खुशी हुँदै सेल्फी लिइरहेका थिए । स्टार र फ्यानविचको साङ्गीतीक प्रेमकथामा आधारित चलचित्रले अनमोलका फ्यान अझै बढाइदिएको छ भने सुहानालाई सम्भावना भएकी नायिकाको रुपमा चिनाएको छ ।