पछिल्लो समय अभिनेता बिराज भट्ट आफ्नो नयाँ चलचित्र ‘साङ्लो’को प्रि–प्रोडक्सनको काममा व्यस्त छन् । यही वैशाखबाट छायाङ्कन सुरु हुने ‘साङ्लो’का अभिनेता बिराज भट्ट र यसै चलचित्रका प्रोडक्सन म्यानेजर शङ्कर पाण्डेबिच हात हालाहाल भएको छ । सोमबार साँझ बानेश्वरको एम क्याफेमा यी दुईको झगडा भएको हो । बिराज भट्टको निर्माण , निर्देशन र अभिनय रहने चलचित्रको छायाङ्कन पुषबाट हुने भनिएको थियो । सोही अनुरूप पाण्डेलाई प्रोडक्सन डिजाइनको रूपमा सम्झौता गराएका थिए । तर चलचित्रको छायाङ्कन ढिलो सुरु भएपछि शंकरले साङ्लोमा काम गर्न नसक्ने जानकारी दिए । बुझिएअनुसार सोमबार बिराजले चलचित्रको छलफलको लागी शंकरलाई उक्त काफेमा बोलाएका थिए । भट्टले पाण्डेलाई चलचित्र छाड्ने भए सम्भौताअघि दिइएको पैसा फिर्ता गर्न आग्रह गरेका थिए । तर पाण्डेले करिब ४ महिनाबढि आफुले चलचित्रको लागी समय बिताएको कारण पैसा फिर्ता नगर्ने अडान लिएपछि माहौल गर्मिएको थियो । त्यसपछि भट्टले पाण्डेलाई मुड्कीले बजारेका थिए भने पाण्डेले भट्ट माथी कुर्सी बजारेको बताइएको छ । यस घटनापश्चात नेफ्टाको अध्यक्ष पुष्कर लामाले सत्य तथ्य बुझेर घठनाप्रति ठोस कदम चाल्ने सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । यो चलचित्रमा पुर्व मिस नेपाल निकिता चण्डकको मुख्य भूमिका रहेको छ ।