२०७२ सालमा चलचित्र ‘प्रेमगीत’ प्रदर्शन भएको थियो । सुदर्शन थापाको निर्देशन, सन्तोष सेनको निर्माणमा बनेको चलचित्रमा नायिका पूजा शर्मा र नायक प्रदिप खड्काको मुख्य भूमिका रहेको थियो । चलचित्र प्रदर्शन भएसँगै यता दर्शकले ‘प्रेमगीत’लाई रुचाए भने उता चलचित्रको टिम बिचको दुरी बढ्दै गयो । जसको परिणाममा निर्देशक सुदर्शन थापा र पूजा शर्मा एकापट्टि भए भने निर्माता सेन र नायिक प्रदिप खड्का अर्को पट्टि भए । प्रेमगीत प्रदर्शन लगत्तै बिग्रएको सम्बन्धले मिडिया गसिपका लागि राम्रो स्थान पायो । 

यति बेला निर्देशक थापा र नायिका शर्मा मिलेर चलचित्र ‘म यस्तो गीत गाउँछु’ तयार गरेका छन् । त्यस्तै यता निर्माता सेनले नायक प्रदिपलाई लिएर प्रेमगीतको सिक्वेल ‘प्रेमगीत २’ तयार पारे । ‘प्रेमगीत २’को ट्रेलर सोमबार एक कार्यक्रम बिच सार्वजानिक गरियो । सुदर्शन थापा निर्देशित ‘म यस्तो गीत गाउँछु’ को ट्रेलर भने केही समय अगाडी नै रिलिज भएको थियो । सो ट्रेलर युवट्युब ट्रेन्डिङ नम्बर १मा समेत आयो। प्रतिस्पर्धी फिल्मको ट्रेलर ट्रेन्डिङमा आउनुलाई विषय बनाएर प्रेमगीत २ का निर्माता सेनले सामाजिक सञ्जालमा व्यङग्य प्रहार गरेका। 


सोमबार आयोजित ‘प्रेमगीत २’ को कार्यक्रममा पत्रकारले सेन लगायतका युनिटलाई 'फिल्मको सामग्री मात्र राम्रो बनाएर हुन्छ कि चलचित्र टिमको पनि दर्शकसँग राम्रो सम्बन्ध बनाउनु पर्छ ?' भनेर पत्रकारले सोधेको प्रश्नमा निर्माण टिमको कोही बोलेनन्। पछि चलचित्रकी नव नायिका अश्लेषा ठकुरीले भनिन्,'दर्शक र चलचित्र युनिटको सम्बन्ध मिडियाले नै राम्रो बनाइदिनु पर्छ।' 
युनिटका तर्फबाट पोस्ट र सेयर हुने विवादास्पद सामाग्री सामान्य रहेको बताउँदै भनिन्,‘समाजिक सञ्जालमा जे पनि पोस्ट हुने गर्छ। तर, चलचित्रको टिम र दर्शक बिचको दुरीलाई भने मिडियाले नै मेटाउनु पर्दछ।’ 
फिल्म युनिटबाट अन्य कसैको जवाफ नआएपछि कार्यक्रम प्रस्तोता रहेका दिनेश डिसीले स्पष्टीकरण दिए।