यतिबेला नेपाली चलचित्र कर्मीहरु चलचित्र निर्माणदेखी प्रदर्शनमा समेत नयाँ प्रयोगहरु गर्न तत्पर देखिन्छन् । पछिल्लो समय, प्रदर्शनमा आइसकेका र दर्शकले मन पराएका चलचित्रलाई हलमा पुन: रिलिज गर्ने हुटहुटी बढेको देखिन्छ । यसैलाई साथ दिँदै सन् २०१० मा रिलिज भएको चलचित्र "दास्ढुङ्गा" रि-रिलिज हुने भएको छ, यसको जानकारी करण श्रेष्ठले आफ्नो आधिकारिक फेसबुकबाट दिएका छन् ।
एमाले बरिष्ठ नेता मदन भन्डारीको रहस्यमय मृत्यु र यसको प्रतक्षदर्शी उनका सवारी चालकको हत्याको घटनामा आधारित चलचित्रलाई मनोज पण्डितले निर्देशन गरेका हुन् ।चलचित्रमा सौगात मल्ल , अनुप बराल , सन्चिता लुइटेल , दयाहङ राई लगायत कलाकारको अभिनय रहेको छ । ९ वर्षअघी बनेको चलचित्र युट्युबमा समेत रिलिज भैसकेको छ । युट्युबमा रिलिज भैसकेको चलचित्र हेर्न दर्शक हलसम्म पुग्छन् कि पुग्दैनन् त्यो समयले बताउँनेछ तर दर्शकको साथ पाएमा राम्रो चलचित्रलाई दर्शकले निराश पार्दैनन् भन्ने दस्तावेज स्थापना हुनेछ ।