पछिल्लो केहि दिन देखि ‘प्रेमगीत २’ र ’म यस्तो गीत गाउँछु’ को कारण गसिप बजार तातेको छ । २०७२ मा एकसाथ फिल्म ‘प्रेमगीत’ बनाएका थिए सुदर्शन थापा र सन्तोष सेनले ।  सेनको निर्माणमा थापाले निर्देशन गरेको फिल्म प्रदर्शन लगत्तै टिम फुटेको हल्ला चल्यो। गसिपको विषय बनेको प्रेमगीत युनिटको खबर निर्देशक र निर्माताले छुट्टा छुट्टै फिल्म घोषणापछि पुष्टि भयो ।  यतिबेला ‘प्रेमगीत २’ र ’म यस्तो गीत गाउँछु’ लाई एक अर्काको प्रतिस्पर्धी फिल्म भन्दै आइएको छ । 


फिल्मको टिम फुटेपछि 'प्रेमगीत २' निर्माता सन्तोष सेनले प्रेमगीतका नायक प्रदिप खड्कालाई लिएर ‘प्रेमगीत २ ’ बनाए भने यता निर्देशक सुदर्शन थापाले सोही फिल्मकी नायिकालाई लिएर ‘म यस्तो गीत गाउँछु’ निर्माण गरे । फिल्म निर्माण गर्नुअघि र तयार भएसँगै यी दुई टिमले एक अर्कालाई सटाएर हान्दै विभिन्न पोस्टहरु समाजिक सञ्जालमा सार्वजनिक गरेको देख्न सकिन्थ्यो ।

प्रेम गीत २ र म यस्तो गीत गाउँछुलाई अस्वस्थ प्रतिस्पर्धी फिल्म मानिरहँदा निर्देशक सुदर्शन थापा सकारात्मक रुपमा प्रस्तुत भए। जब सुदर्शन निर्मित तथा निर्देशित फिल्मको ट्रेलर आएको थियो तब प्रेमगीत २ का निर्माता सेनले फेसबुकमा व्यङग्यात्मक स्टाटस पोस्ट गरेका थिए

। तर, सुदर्शन थापाले सोमबार सार्वजनिक ‘प्रेमगीत २’को ट्रेलर सेयर गर्दै सेनको टोलीलाई शुभकामना व्यक्त गरे। उनले आफ्नो फेसबुक पोस्टमार्फत शुभकामना व्यक्त गरेका हुन्।’प्रेमगीत २’ आउँदो साउन १३  गते र ’म यस्तो गीत गाउँछु’ असार ३० गते प्रदर्शन हुँदैछ।