केहि समय अघि लोक दोहोरी भन्ने बित्तिकै आधुनिक सोच भएका भनिने र आधुनिक गीत सङ्गीत मन पराउने श्रोताहरु नाक खुम्च्याउने गर्थे । उसो त लोक दोहोरीको आफ्नो छुट्टै बजार थियो अनि श्रोता दर्शक पनि सिमित थिए । कलाकारको छुट्टै जमात थियो जसलाई न मुलधारका कलाकारसँग कुनै अपेक्षा थियो न उनिहरु त्यता तर्फ आकर्षित थिए । तर अहिले समय बदलिएको छ । पछिल्लो समय लोक दोहोरी गीत यसरी आयातन बढाएर आयो जसले दर्शक श्रोताको लोक दोहोरीप्रतिको हेराइ मात्र फेरिदिएन ठुलो पर्दामै करियर बनाइसकेका कलाकारको पनि ध्यान खिच्यो ।
नेपाली चलचित्र नगरीमा दिनहुँ जस्तो नयाँ अनुहारले प्रवेश गर्छन् तर सानो बजार सिमित लगानी र अन्न्योलमय भविष्य बोकेर हिँडिरहेको चलचित्रको बजारमा प्रवेश गर्ने सबै अनुहार टिक्छन् भन्ने छैन । त्यसैले पनि आफ्नो करिअरलाई कता तर्फ मोड्ने भन्ने निर्णय लिन कलाकरहरुले निकै नै मिहिनेत गरिरहेका हुन्छन् । एक दुइ चलचित्रमा अभिनय गरिसकेर पनि दर्शकको मन जित्न सफल नभएका कलाकारहरु कि त पलायन हुन्छन् कि त आफुले काम गर्ने तरिका फेरेर संघर्षमा उत्रीन्छन् ।कुनै समय यस्तै अवस्था पुगेकी थिइन अभिनेत्री मरिस्का पोख्रेल । चलचित्रमा त्यती जम्न नसकेकी मरिस्काले जब 'सालको पात टपरी' शिर्षकको लोक दोहोरी गीतमा प्रस्तुती दिइन् उनको चर्चा परिचर्चा बढ्दै गयो ।
यती बेला उनी म्युजिक भिडियो देखी अभिनय सबैतिर जम्दै छिन् । लोक दोहोरी मा प्रवेश गरेर चर्चामा आएकी मरिस्का मात्र भने होईनन् । लोक दोहोरीको बढ्दो बजारसँगै चलचित्रमा स्थापित नायिकाहरु पनि एक पछी अर्को गर्दै लोक दोहोरीमा देखिइरहेका छन् ।
आफ्नो अभिनय कौशलले दर्शकको मन जितेकी अर्की नायिका सुरक्षा पन्त पनि दोहोरीले दिन सक्ने पपुलारिटी नकार्न सकिनन् । 'लाउँछ माया' बोल को गीत मा उनले प्रस्तुती दिइन् । यसै गरी अहिलेकी व्यस्त नायिका प्रियंका कार्कीले पनि लोक दोहोरीमा पाइला राखिसकेकी छिन् । नायिका शुस्मा कार्की, निता ढुङ्गाना, केकी अधिकारीलाई पनि लोक दोहोरीमा कम्मर मर्काएको देखिसकेका छौँ ।
नायिकाहरुको एक पछी अर्को गर्दै लोक दोहोरिमा भएको प्रवेशले कतै उनीहरु चलचित्रमा आफ्नो स्थाइत्व देख्न छोडिरहेका त छैनन् ?वा चर्चामा आउने अर्को बाटो पहिल्याउने क्रममा त्यता पुगेका हुन् त्यो त उनिहरु लाई नै थाहा होला । तर यती चाहिँ के बुझ्न सकिन्छ भने नेपाली चलचित्रले एक कलाकारलाई आफ्नो जिवन गुजारा गर्न र लाईफ्स्टाइल मेन्टेन गर्न सक्ने आम्दानी पक्कै दिन सकेको छैन । वर्षमा एक दुइ चलचित्रमा अभिनय गरेर आफुलाई सिमित राख्नुको अलवा त्यस बाहेक का काममा व्यस्त राख्नु सकारात्मक नै मान्न सकिन्छ ।