रोजगारी होस या शैक्षिक योग्यता हासिल गर्ने बहानामा विदेशमा रहेका नेपालीहरुले नेपाली चलचित्र हेर्नको लागी धेरै सम्झौता गर्नु पर्ने बाध्यता रहिआएको छ । कि त यदाकदा बिदेशमा हुने सोज कुर्न पर्छ कि त चलचित्र कहिले युट्युबमा अपलोड हुन्छ र हेरौँला भनेर कुर्नु पर्छ । अब भने नेपाली चलचित्रलाई माया गर्ने बिदेशिएका नेपालीहरुको लागी  प्रदर्शनमा आएकै दिन चलचित्र हेर्न मिल्ने भएको छ । हालै सार्वजनिक एक एप्सले नेपाल रिलिजकै दिनमा विदेशका दर्शकले पनि शःशुल्क सिनेमा हेर्न पाउने व्यवस्था मिलाउने भएको छ । नेपाली सिनेमा तथा संगीत क्षेत्रको डिजिटल अधिकार खरिद गर्दै आएको कम्पनि ओएसआर डिजिटलले ‘भिडियो पसल’ नामक एप्स सञ्चालनमा ल्याएको हो । हाललाई नेपाल बाहिर मात्रै डाउनलोड गर्न मिल्ने यो एप्स मार्फत नेपालमा हरेक शुक्रबार रिलिज हुने ‘फ्रेस सिनेमा’ सिमित शुल्क तिरेर हेर्न मिल्नेछ । एन्ड्रोइड र आएओएस दुबै मोबाइलको प्ले स्टोरमार्फत डाउनलोड गर्न सकिने एप्समा १ देखी ३ डलरसम्म मात्रै शुल्क तिर्दा ग्रेड अनुसारका सिनेमा हेर्न मिल्नेछ ।