तत्कालिन एमाले महासचिव मदन भण्डारीको रहस्यमय दुर्घटना र मृत्युलाई कथाबस्तु बनाएर निर्माण गरिएको चलचित्र 'दासढुङ्गा'को सिक्वेल बन्ने भएको छ । ‘दासढुंगा : च्याप्टर २’ नाममा निर्माण हुने चलचित्रलाई कुमार भट्टराईले निर्देशन गर्ने छन् । भदौदेखि छायाङ्कन सुरु हुने भनिएको चलचित्रको स्क्रिप्टमा काम भैरहेको बताइएको छ । सिक्वेलमा प्रिक्वेलका कलाकार अनुप बराल, दयाहाङ राई, सौगात मल्ल कन्टिन्यू हुने जनाइएको छ भने ऋचा शर्मा, सुरक्षा पन्त, भोलाराज सापकोटा लगायत कलाकार थपिने बुझिएको छ । निर्माता कम्पनीले केही दिनमा थिम पोस्टर र लोगो रिलिज गर्ने तयारी गरेको छ । दासढुंगालाई रिसुट गरेर पुनः रिलिज गर्ने तयारी भए पनि आफुसँग भएको कन्सेप्टलाई चलचित्रको रुप दिने कोसिस गरेको निर्देशक भट्टराई बताउँछन् ।
'दासढुंगा हत्याकाण्डको रहस्य अझै सुल्झिएको छैन र मदन भण्डारकै पार्टी शक्तिमा छ भण्डारीकी पत्नी अहिले राष्ट्रपति हुनुहुन्छ र उहाँकै पार्टीको सरकार छ । दासढुंगा फिल्म सरकारमाथि दबाब पनि हुनसक्छ ।’ निर्देशक भट्टराई भन्छन् ।