सोमबार दिँउसो चलचित्र प्रेमगीत २ को ट्रेलर आउट भएसँगै चलचित्रको चर्चा अझ बढ्दो छ । एक्सन, प्रेम र बिछोडले भरिपूर्ण चलचित्र प्रेमगीतको एउटा सस्पेन्स खुलेको थियो । केही दिन अघि चलचित्र भित्रको केही तस्बिर लिक भएसँगै निर्माता सन्तोष सेन पनि चलचित्रमा रहेको भन्ने खुलेको थियो । ट्रेलर रिलिज समारोहमा निर्माता सेनले आफू थाइल्याण्डको खेलाडीको रूपमा रहेको बताएका थिए ।
ट्रेलरमा भिलेनको रूपमा देखिएका सेनले कार्यक्रममा बोल्दै थपे 'चलचित्र हेरे पछि मलाई सराप्ने छन् '। आफ्नो भूमिकाको बारेमा सस्पेन्स राख्न चाहेका सेनले पैसा हालेर चलचित्र खेल्यो भनेर नबुझिदिन अनुरोध गरेका छन् ।
मङ्गलवार दिँउसो फेसबुकमा लाइभ बसेका सेनले चलचित्रको ट्रेलरबाट पाएको प्रतिक्रियाले खुसी भएको बताएका छन् । ट्रेलरमा लाइक भन्दा डिसलाईक धेरै भएको भन्दै शत्रु भए पनि चलचित्रको प्रमोसन गर्ने सहयोग गरेकोमा धन्यवाद दिएका थिए । आफू चलचित्रमा पैसा कमाउन नआएको भन्दै यही क्षेत्रमा काम गर्ने माहोल भए प्रेमगीत ३ पनि बनाउने उनले बताए ।
सेनले २०७२ मा आएको चलचित्र प्रेमगीतले लगानी समेत नउठाएको खुलासा गरेका छन् । 'मलाई प्रेमगीत २ ले लगानी उठाउछ् जस्तो लागेको त छैन तर लगानीको आसपास पुग्न पाए पनि म खुसी हुन्छु । यस चलचित्रमा हामीले मेहनत लगाएका छौ । दुई तिन सयले काम गर्नु भएको छ ।' सेन भन्छन् ।
रामशरण पाठकको लेखन र निर्देशन रहेको चलचित्र प्रेमगीत २ मा नायक प्रदिप खड्का र नव नायिका अश्लेषा ठकुरीको मुख्य भूमिका रहेको छ । साउन १३ गते अल नेपाल प्रदर्शन हुँदै छ ।