२० औँ चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघको मकवानपुर शाखाको आयोजनामा मंगलबार एक कार्यक्रम सम्पन्न भयो । हेटौँडामा आयोजना भएको कार्यक्रममा यो वर्षको ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट वरिष्ठ सञ्चारकर्मी तथा कवि डा .नवराज लम्साललाई सम्मान गरिएको छ । उनलाई नगद ११,१११ राशी सहित सम्मान गरिएको हो । विगत तिन दशकदेखि नेपाली कला र भाषा र सिनेमा क्षेत्रमा कलम चलाईरहेका भएका डा .लम्साल, हाल रेडियो नेपालमा कार्यरत छन् । संघका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
यसैगरी कार्यक्रममा ‘चलचित्र पत्रकारिता पुरस्कार २०७६’ बाट मकवानपुरबाट नेपाल समाचार पत्रमा कलम चलाउँडै आएका पत्रकार रोशन पराजुलीलाई पुरस्कृत गरिएको छ । संघले मकवानपुरबाट राष्ट्रिय स्तरमा कलाकारिता गर्दै आएका कलाकारलाई पनि सम्मान गर्ने गरेको र यस वर्ष द्धन्द निर्देशक तथा कलाकार राजेन्द्र खड्कीलाई सिनेमाकर्मी सम्मान २०७६ बाट सम्मान गरेको छ ।