खगेन्द्र लामिछाने अभिनित चलचित्र ‘धनपति’ असार २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । केहि दिन अघि रिलिज भएको ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया पाईरहेको छ । ‘टुकी आर्टस्' र 'दिपेन्द्र के खनाल प्रोडक्सन'को संयुक्त लगानीमा निर्माण भएको चलचित्रमा अब विदेशी दर्शकलाई लक्षित गर्दै अंग्रेजी सबटाइटल राख्ने भएको छ । पछिल्लो समय नेपाली चलचित्र प्रति बढ्दै गएको विदेशी दर्शकको चासोलाई मध्यनजर गर्दै चलचित्र अंग्रेजी सबटाइटलको साथमा रिलिज हुन लागेको निर्माण टिमले जनाएको छ । यहि ब्यानरले यसअघि ‘पशुपतिप्रसाद’ निर्माण गरेको थियो । दिपेन्द्र के खनालको निर्देशनमातयार भएको चलचित्रमा खगेन्द्र र सुरक्षाको अलावा आशान्त शर्मा, मनिष निरौला, हरिहर शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।