चलचित्र निर्देशकको रुपमा राम्रो नाम बनाउन सफल निर्देशक हुन् सामतेन भुटिया । चलचित्र ‘लेटर’बाट नेपाली चलचित्रमा निर्देशकको रुपमा डेब्यु गरेका सामतेनले पछिल्लो समय चलचित्र 'च च हुई' लिएर आएका छन् । चलचित्रको गत साता देखि हङकङमा छायाँकन भईरहेको छ । मेन्स्ट्रीमका कमर्सियल चलचित्रभन्दा पनि आर्टिस्टिक चलचित्रमा काम गर्न रुचाउने सामतेनले यस पटक कमर्सियल चलचित्रमा हात हालेका हुन् । तान्द्रो, अनागत, सुस्केरा र साढे सात जस्ता चलचित्र बनाएका उनलाई एकै जानराको चलचित्र मात्र बनाएको नाममा आलोचना पनि गरिने गरिन्थ्यो । यस जनविश्वासलाई नकार्दै उनले यस पटक फरक स्वादको कमेडी जनरको चलचित्रमा हात हालेका हुन् ।एक साताको सुटिङ सेड्युल बनाएर हङकङ लागेको टोलिमा अभिनेता आर्यन सिग्देल, माओत्से गुरुङ र भोला राज सापकोटासँगै छायाँकार सुशन प्रजापति, निर्देशक साम्तेन भुटिया, निर्माता अमृत घोले लामा लगायत रहेका छन् । हङकङ सुटिङ सक्किए पछी नेपालको बाँकी छायाङ्कन पुरा गरिने चलचित्रका निर्माता अमृत घोले लामाले बताएका छन् ।