दयाहाङ राई स्टारर चलचित्र 'आप्पा'को यतिबेला प्रमोसन सुरु भएको छ । जेठ २४ बाट प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्रले बाबु छोराको सम्बन्धको कथा भन्ने बताइएको छ ।चलचित्रमा दयाहाङले आप्पा (बाबु )को भूमिका निभाएका छन् भने डेब्यु कलाकार शुशान्त राज तामाङले छोराको भूमिका निभाएका छन् । पहिलो पटक आप्पाको प्रमोसनका लागी निर्देशक/लेखक अनमोल गुरुङ, दयाहाङ र शुशान्त एकसाथ मिडियामा आउँदा चलचित्रको कथादेखी सुटिङको बेलाको अनुभव सम्झिँदै दयाहाङले आफ्नो सानो छोरोलाई पनि सम्झिए । आमा छोरीको सम्बन्ध धेरै जसो नजिक हुने र एक अर्काको प्रेम साट्न सक्ने र देखाउन सक्ने हुन्छ तर बाबु छोराको सम्बन्धमा एउटा रेखा हुन्छ जुन पार गरेर न त बाबुले छोरालाई गर्ने प्रेम देखाउन सक्छन न त छोराले नै । यही यथार्थलाई कथाको रुप दिइएको चलचित्रको छायाङ्कनको कुरा सम्झिँदा दयाहाङले आफुले नभोगेको बाबु छोराको सम्बन्ध अनुभव गर्न पाएको बताउँछन् ।
कुराकानिमा चलचित्र छयाङ्कन भैरहँदा शुशान्तले गरेका सानासाना तर गम्भिर प्रश्नले आफ्नो सानो छोरालाई धेरै सम्झाएको कुरा भावुक हुँदै सम्झिए । आप्पाको कथाले आफुलाई अतीनै छोएको पनि दयाले बताए ।
यसैगरी चलचित्रका छोरा पात्र शुशान्त आफु दयाहाङ राइको फ्यान भएको र चलचित्र छयाङ्कन हुने बेलासम्म पनि आफुले दयाहाङसँग काम गर्दै छु भन्ने थाहा नभएको बताए ।
कालिङ्पोङमा छायाङ्कन गरिएको चलचित्रमा उतैको लवज र रहनसहनलाई टिप्न खोजिएको छ ।चलचित्रमा दयाहाङ, शुशान्तका साथमा तुल्सी घिमिरे, अरुणा कार्की लगायत कलाकारको अभिनय रहेको छ । रुदेन सदा लेप्चाको निर्माण रहेको चलचित्र सैलेन्द्र डि कार्कीले खिचेका हुन् ।