शोभित बस्नेतको निर्देशनमा बनिरहेको चलचित्र ‘बद्रीबहादुर’ को यतिबेला छायाङ्कन भैरहेको छ । सलोन बस्नेतलाई मुख्य भूमिकामा पहिलो पटक कास्ट गरिएको यस चलचित्रको एउटा गीतमा नायिका पुजा शर्मा र सलोनलाई फिचर्ड गराइएको छ । यस अघि स्क्रीन सेयर गर्ने मौका नपाएको यो जोडी 'बद्रीबहादुर'मा पनि यही एउटै गीतमा साथ देखिने भएको हो । वास्तविक जीवनमा निकै मिल्ने साथी रहेका दुईलाई चलचित्रको गीतमा कम्मर मर्काएको देख्न पाइने भएको छ । उसले बाल कलाकारको रुपमा अभिनय गरेको चलचित्र हेरे बेला देखी नै आफु सलोनको फ्यान भएको पुजाले बताएकी छिन् । पुजा थप्छिन्,'ऊसँग मलाई बिहे गर्ने रहर समेत पलाएको थियो । म उसको अभिनयबाट निकै प्रभावित छु ।'
चलचित्र ‘बद्रीबहादुर’ को गीत ‘पुलिस दाई’मा टंक बुढाथोकीको स्वर, शब्द तथा संगीत रहेको छ भने शिव विकको कोरियोग्राफीमा पूजा र सलोनले कम्मर मर्काएका छन् । विनोद सापकोटाले गीतको छायांकन गरेका हुन् ।