शुक्रबार नयाँ चलचित्र रिलिज हुने दिन । यो शुक्रबार एकसाथ तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । तीन हप्ता अगाडि प्रदर्शनमा आएको दुई चलचित्र ‘जात्रै जात्रा’ र ‘बीर विक्रम २’को ओझेलमा पर्ने डरले गत हप्ता कुनै नेपाली चलचित्र प्रदर्शनमा ल्याउने साहस निर्माण पक्षले गर्न सकेन । फल स्वरुप यो हप्ता तीन चलचित्रले आमने सामने गर्नु पर्ने भएको छ । दीपक ओली निर्देशित ‘कुम्भ करण’, सम्राट सापकोटा निर्देशित ‘कप्स’र मदन घिमिरेको ‘काउसो’ एक अर्काका प्रतिष्पर्धी भएका छन् ।
आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को निर्माणमा बनेको ‘कप्स’मा नेगेटिल भूमिकामा स्थान बनाएका अनुप विक्रम शाही मुख्य भूमिकामा छन् भने उनलाई साथ दिएका छन् सन्दिपा लिम्बु, अनुपा भट्टराई, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापालगायतका कलाकारहरुले । यसैगरी कमेडी जनराको चलचित्र ‘काउसो’ मा एक्सन हिरोको रुपमा आफूलाई स्थापित गरेका सविन श्रेष्ठ मुख्य भूमिकामा छन् भने अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारीलगायत कलाकार उनको साथमा छन् । यसतै आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘कुम्भ करण’ मा नीशा अधिकारी, गौरव पहारी, भोलाराज सापकोटा, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापालगायत कलाकारको अभिनय रहेको छ ।