चलचित्र ‘बाहुबली २’ले बक्स अफिसमा ५० दिन भन्दा बढी बिताइसकेको छ भने अझै भारतमा १००० भन्दा बढी  हलहरुमा चलिरहेको छ । भारतमा ‘बाहुबली २’ले नेट ५१० करोडको कमाई गरिसकेको छ । चलचित्रले पाएको सफलताको खुसीयालीमा निर्माता तथा निर्देशन रहेका करण जौहरले सोमबार राती आफ्नो घरमा एक पार्टीको आयोजना गरेका थिए । उक्त पार्टीमा प्रभास, राना दग्गुबत्ति, आलिया भट्ट, वरुण धवन लगायतका चर्चित अनुहार उपस्थित थिए ।

पार्टी चलिरहन्दा नायक वरुण धवनले आफ्नो इन्टाग्राम एकाउन्टबाट एउटा तस्बिर पोस्ट गरेका थिए । जुन तस्बिर हेर्दा ‘बाहुबली २’को एक महत्त्वपूर्ण सिनको याद आउन्छ । जसमा कटप्पाले बाहुबलीलाई मारेको सिनको झझल्को दिन्छ । वरुणले तस्बिर सेयर गर्दै लेखेका छन् ‘यो संसारमा दुई व्यक्ति छन् जसले यस्तो काम गरेर इतिहास बनाउन सक्छन् , एक कटप्पा अनि म । प्रभास एकदमै शान्त छ , भगवान् उनलाई अझै शक्ति देऊ ’