माझी बस्ती निर्माणको अन्तिममा चरणको काम गरिरहेको 'स्वेता श्री फाउन्डेसन'की खाँबो स्वेता खड्का यती बेला घाँटीको अपरेसन पछी आराम गरिरहेकी छिन् । उनको एकल प्रयासबाट सुरु भएको बस्ती निर्माणको काममा बिभिन्न संघ संस्था लगायत सरकारले पनि सहायता गरे । आफ्नो तन, मन अनि धन सबै लगानी गरेर गरीब माझीबस्तीमा सपना फुलाउन सहयोग गर्ने स्वेतालाई सम्मान तथा उनको कामको सरहानिय गर्नेहरु प्रसस्तै छन् । यसैबिच उनको कामको सम्मान एवंम् प्रोत्साहन गर्दै पर्वतारोही पेम्बा दोर्जे शेर्पाले नायिका श्वेता खड्का र स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको तस्वीर अंकित टिसर्ट लगाएर विश्वकै अग्लो टाकुरा सगरमाथामा श्वेताश्रीको झन्डा फहराएका छन् । श्वेताश्रीको झन्डा विश्वकै अग्लो टाकुरामा फहराएकोमा शेर्पाप्रति नायिका खड्काले आभार व्यक्त गरेकी छिन् । उनले भनेकी छिन्–‘माझी बस्तीको अभियानबाट प्रभावित भएर आरोही पेम्बा दोर्जे शेर्पाले संस्थाको नामलाई सगरमाथाको चुचुरोमा पुर्याइदिनुभएछ । साथै मेरो जीवनसाथी श्रीकृष्ण श्रेष्ठ र मेरो तस्वीर अंकित टिसर्ट लगाएर हामीप्रति दर्शाउनुभएको आत्मियता, सद्भाव र प्रेमप्रति हामी आभारी छौ ।’ आरोही पेम्बाले फाउन्डेसनको झन्डा फहराउनु पछाडिको कारण सुनाउँदै भनेका छन्, ‘एउटी महिलाले पुरा बस्ती नै बनाउने जसरी हिम्मत जुटाइन्, त्यसप्रति हामीले गर्व गर्नुपर्छ । साथसाथै यो किसिमको कामलाई हामीले हौसला दिनुपर्छ’ उनले अगाडि भने–‘किनभने सामाजिक काम गर्नु सगरमाथा चढ्नुभन्दा बढी कठिन काम हो ।’