बक्स अफिस लागु गर्न चलचित्र विकास बोर्डका अध्यक्ष देश दौडाहामा लागिपरेको खबर केहि दिन अघि सार्वजनिक भएको थियो । उनको यो प्रयासले मुर्त रुप लिन सफल भएको छ । शनिबार  सुचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाको उपस्थीतमा बक्सअफिस सिस्टमको उद्धाटन गरिएको छ । सर्लाहीको लालबन्दीमा रहेको वीणा चलचित्र मन्दिरमा आयोजीत एक कार्यक्रमका बिच मन्त्री बाँस्कोटाले उपत्यका बाहिरको बक्सअफिस (सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम)को उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले असार मसान्तभित्र देशभरका हलमा इ-टिकेटिङ सिस्टम समेत लागू हुने बताएका छन् । उनले भने,’प्रत्येक व्यवसाय पारदर्शी हुनुपर्छ, व्यावसायिक शुद्धताले राज्य र पेशालाई मर्यादित बनाउँछ । दर्शकलाई उत्कृष्ट सेवा दिनका लागि पनि प्रविधिलाई आत्मसात् गर्नुपर्छ ।देशको विकास भयो भने मात्र सबै क्षेत्रको विकास हुन्छ । त्यसैले हरेक क्षेत्रको हिसाब पारदर्शी हुनुपर्छ । हरेक क्षेत्रले सरकारलाई ट्याक्स तिर्नु आजको आवश्कता अन्तर्गत पर्छ ।

साथै, कुनै पनि संस्थाले ट्याक्स तिरेपछि त्यो संस्थालाई सरकारले त्यही अनुसार सुविधा दिनुपर्छ र दिन्छ पनि ।’ यस्तै बक्सअफिस सिस्टमको उद्धाटन कार्यक्रमा पुगेका विकास बोर्ड अध्यक्ष केशब भट्टराईले भने ’यदी साउन १ गतेभित्र हल सञ्चालकले इ-टिकेटिङ लागू नगरे कारवाही सुरु गर्छौं । हामी सकेसम्म कारवाही नगर्ने सोचमा छौं । यो कुरा साँचो होकी हामी अटेर गर्नेलाई छाड्दैनौं ।’ बोर्डले देशभरका ८० हललाई निःशुल्क रुपमा कम्प्युटर, प्रिन्टर, इन्टरनेट राउटरलगायत आवश्यक उपकरण उपलब्ध गराउनुको मुख्य उद्देश्य इ-टिकेटिङमार्फत टिकट जारी गर्नु रहेको बोर्ड अध्यक्षको भनाई छ । यस्तै काठमाडौं उपत्यकाभित्र लागू भएको बक्सअफिस सिस्टम पनि चाँडै कार्यन्यवनमा ल्याउने बताए ।