काठमाडौँ – थाहा अभियन्ता तथा राजनीतिज्ञ रुपचन्द्र बिष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने ः बिद्रोहको नेपाली नाम’को फष्टलुक सार्वजनिक गरिएको छ । विष्टको १८ औं स्मृति दिवसको अवसर पारेर चलचित्र निर्माण युनिटले बुधबार चलचित्रको फष्टलुक सार्वजनिक गरेको हो ।
रुपचन्द्रको सिङगो जीवन र थाहादर्शनका महत्वपुर्ण पाटाहरु समेटेर चलचित्र निर्माण भएको हो । अमित किसोर सुवेदी र विकाश ढकालको संयुक्त लेखन निर्देशन रहेको चलचित्र दावनल क्रियसनले थाहायात्रासँगको सहकार्यमा निर्माण गरेको हो । यसका निमार्ता जागृत रायमाझी हुन् । 
चलचित्रमा रुपचन्द्र विष्टको भूमिका अभिनेता दिब्यदेबले निर्बाह गरेका छन् । नम्रता श्रेष्ठ, रवि गिरि, सुभाष गजुरेल, अमर सुवेदी लगायतका सय भन्दा बढि कलाकारको चलचित्रमा अभिनय रहेको छ । वलिउडका छायाँकार शान्ता राओको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको संगीत रहेको चलचित्रको कथा निर्देशकद्धयले नै तयार पारेका हुन् । चलचित्र यहि बर्ष २०७४ को अन्त्यमा प्रदर्शन हुने निर्माण पक्षले बताएको छ ।