यतिबेला नेपाली चलचित्रको व्यवसायिक पाटोमा असमझदारी एवम् कटाक्ष चलिरहेको छ । यो असमझदारी अरु केहीमा नभएर चलचित्र प्रदर्शनको विषयलाई लिएर भएको हो । नेपालमा बलिउड चलचित्र वर्ल्ड रिलिज कै दिन अर्थात बुधवार नै प्रदर्शनमा आउँथे भने नेपाली चलचित्र साविकको झैँ शुक्रबार नै रिलिज हुन्थे तर केहि समय यता बलिउड चलचित्र पनि शुक्रबारनै रिलिज हुनुपर्ने विचार आउन थालेको छ । चलचित्र निर्माता पक्षले उठाएको यो आवाजलाई चलचित्र बितरकहरुले मन्द बनाइदिए जब बलिउड चलचित्र ‘भारत’लाई बुधबार नै नेपालमा रिलिज गरि पाउँ भनेर वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टले जिल्ला अदालत, काठमाण्डौमा मुद्दा दायर गर्यो र अदालतले वितरण कम्पनीको पक्षमा फैसला गर्यो । योसँगै अब जुनसुकै बारमा पनि विदेशी चलचित्र रिलिज हुने बाटो खुलेको छ ।
योसँगै प्रदर्शन भैरहेका र शुक्रबारदेखी प्रदर्शनमा आउने नेपाली चलचित्रले नराम्रो घाटा व्यहोर्नु पर्ने भएको छ ।सलमान खान स्टारर चलचित्र ‘भारत’ आजदेखी नै नेपालमा रिलिज हुँदैछ । जसको कारण दर्शकको राम्रो चाप पाइरहेको चलचित्र ‘जात्रै जात्रा’को शो आधा घटेको छ भने हलमा चलिरहेको चलचित्र ‘कुम्भ करण’ले ५ दिनमात्र मल्टिप्लेक्समा पाइला राख्न पायो । यो प्रकारको असन्तुलित र नेपाली चलचित्रको हित बिपरित गरिएको निर्णयको बिरोध गर्दै चलचित्र निर्माता संघले विज्ञप्ती जारी गरेको छ । संघका महासचिव रोज राणाले जारी गरेको विज्ञप्तीमा,‘नेपालका चारवटा ठूला चाडपर्व(दशै, तिहार, तिज र नयाँ बर्ष) का निश्चित बिदाका दिन बाहेक अन्य मितिमा अनिवार्य रुपमा चलचित्र शुक्रबार मात्र प्रदर्शन गरिनुपर्ने नियम र पद्धती रही सोही अनुसार चलचित्र प्रदर्शन हुँदै आएकोमा केही दिनयता नेपाल चलचित्र संघका सदस्यबाट चलचित्रको प्रदर्शनलाई असर पार्ने मनसायबाट एक विदेशी चलचित्र उल्लेखित पद्धती र प्रावधानको विपरित शुक्रबार अगावै प्रदर्शन गर्ने सम्पूर्ण प्रक्रिया पुरा गरेको सुन्नमा आएको हुँदा यसमा संघको गम्भिर ध्यानाकर्षण भएको छ ’ भनिएको छ ।