निर्वाचनको मिती नजिकिँदै जाँदा उमेरद्वारहरुले भोट माग्नको लागी प्रतिबद्दता जाहेर गर्ने कामदेखी सपना देखाउने कामको न्वारन गर्नु सबै क्षेत्रमा लागु हुने कुरा हो । राजनिती होस् या अन्य कुनै संस्था प्रतिनिधी छनौटको क्रममा अन्योल उत्पन्न हुनु पनि सामान्य नै हो त्यसैले त्यो अन्योल केहि हदसम्म भएपनी सहज होस् भन्नको लागी र आफुले परिवर्तन र विकासको लागी बनाएका एजेन्डाको मुखौटो देखाएर आफुलाई भोट गर्नेको सङ्ख्या बढाउन खोज्नु सबैको नियती नै हो । यसैबिच चलचित्र कलाकार संघका केही सदस्यहरुलाई निर्वाचनले छपक्कै छोएको छ । जेठ २५ गते हुने चलचित्र कलाकार संघको निर्वाचनको लागी अध्यक्ष र अन्य पदमा उम्मेदवारी दर्ता गराएका कलाकारहरु आफ्ना एजेन्डाहरु सार्वजनिक गर्न तत्पर छन् ।निर्वाचनका लागि अध्यक्ष पदमा रविन्द्र खड्का र सरिता लामिछानेले उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष पदमा मनोज केसी, सानुकुमार ताम्राकार, विनोद कुमार भट्टराई र रेजिना उप्रेती प्रतिश्पर्धामा उत्रेका छन् ।महासचिव पदका लागि चेतबहादुर सिंह र संजय खतिवडा सचिव पदमा कविता गेलाल, राजकुमार शाह र पनाह अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । कोषाध्यक्षमा कलाकार सुनिल कटुवाल निर्विरोध चुनिएका छन् र सह-कोषाध्यक्षमा पवित्रा आचार्य र डिबी बम्जन चुनावी मैदानमा छन् ।


अध्यक्ष पदमा उम्मेदवारी दिएका कलाकार रविन्द्र खड्काले बिहिबार पत्रकार भेटघाटमा २१ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् । उनले चलचित्र कलाकार संघको भवन निर्माण गर्नेदेखि कलाकारलाई पेन्सनको व्यवस्था गर्ने सम्मका प्रतिवद्धता सार्वजनिक गरेका छन् ।  यसैगरी कलाकारको वर्गिय हक हित र सुरक्षा, कलाकारको आर्थिक सम्बृद्धीका लागि विशेष कार्यक्रम संचालन गर्नेदेखि सरकारले भर्खरै घोषणा गरेको समाजिक सुरक्षाको घेरामा कलाकारलाई ल्याउने समेत बताएका छन् । वृद्ध र अशक्त कलाकारका लागि आर्थिक स्तरोन्नतीको कार्यक्रममा पहल गर्ने यसका साथै कलाकार संघलाई सातै प्रदेशमा पहुँच पुर्याउने महासंघको अवधारणा ल्याउने पनि बताएका छन् । आफ्नो सिंगो प्यानल नै सार्वजनिक गर्दै रविन्द्रले कलाकार संघलाई राजनीतिबाट मुक्त बनाउने समेत सपना देखाएका छन् ।