लोकप्रिय बलिउड गायिका नेहा ककर कन्सर्टको लागी नेपाल आएकी थिइन् । लाखौँको सङ्ख्यामा रहेका उनका फ्यानहरु निकै नै उत्साहित थिए । राजधानीको मुटु ठमेलको 'एल ओडि क्लब'मा कन्सर्ट आयोजना गर्ने भनेर आयोजकले टिकट बिक्री पनि गरे । नेहाका फ्यानहरुले तछाडमाछाड गर्दै टिकट काटे र आफुले कती समय देखी कुरेर बसेको समय को अन्त्य हुने बेला आएको भन्दै उत्साहित पनि भए । भारतबाट नेहा शुक्रबार नै आइन् । शनिबार कन्सर्ट पनि हुने भयो । तर आयोजकले धेरै भन्दा धेरै टिकट कटाउने , पैसा बटुल्ने र कन्सर्ट हेर्न आएका दर्शकलाई जेन तेन नेहाले गाएको गीत कानसम्म पुर्याउने मात्र उद्देश्य राखे । आयोजकले न अन्तर्राष्ट्रिय पाहुना कलाकारको सुरक्षाको बारेमा सोच्न भ्याए, न दर्शकले हजारौँ तिरेर टिकट काटेपछी उनिहरुलाई सुबिधाका साथ कार्यक्रममा सहभागी गराउनु पर्छ भने सोचे । आयोजकले कार्यक्रम हुने स्थानको क्षमता भन्दा धेरै दर्शक समावेश गराए, कार्यक्रमको सोभा बढाउन सुरक्षा निकायका वरिष्ठ अधिकारीदेखि भारतीय राजदूतावासका उच्च अधिकारीसम्मलाई निम्ता गरे ।
तर यती सबै बदोबस्त मिलाउन सक्ने आयोजकले क्षमताभन्दा बढी टिकट बिक्री गरेको र उच्च ओहोदाका व्यक्तित्वको सुरक्षाको ख्याल नगरेको भन्दै पारामाउन्ट इभेन्टका सञ्चालक दीपक घिमिरेलाई प्रहरीले पक्राउ गर्यो । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अन्तर्राष्ट्रिय अतिथि गायिकाको सुरक्षा समेत ख्याल नगरी अत्यधिक टिकट बिक्री गरेको भनि घिमिरेलाई नियन्त्रणमा लिएको हो । क्लबको सबै स्थानमा मान्छेको घुइँचो रहे पनि त्यत्तिकै युवा टिकट लिएर बाहिर बसेका थिए। घिमिरेले गल्ती स्विकार गर्दै प्रस्तुति हेर्न नपाएकाहरुको टिकटको रकम फिर्ता गर्ने बाचा गरेका छन् ।