प्रियंका कार्की,आयुष्मान देशराज जोशी र डेव्यु अभिनेता विशाल खरेल अभिनीत चलचित्र 'प्रेम दिवस'को नयाँ गीत सार्वजनिक भएको छ । 'माया गर्छु तिमीलाई' शिर्षकको गीतमा प्रियंका कार्की र विशाल खरेललाई फिचर्ड गरिएको छ । जेठ ३१ अर्थात् आगामी शुक्रवार रिलिजको तयारी गरिरहेको चलचित्र त्रीकोणात्मक प्रेम कथामा आधारित छ । योगेश घिमिरेले निर्देशन गरेको चलचित्रको सार्वजनिक गीतमा अञ्जु पन्त र सुरेश लामाको स्वर रहेको छ । महेश खड्काको सङ्गीत रहेको गीत डाक्टर कृष्णहरी बरालले रचना गरेका हुन् । गीतको भिडियोलाई पछिल्लो समयका चर्चित कोरियोग्राफर कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । चलचित्रमा प्रियंकाले एक प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् जो एक गरिब र धनी युवकसँग प्रेममा परेकी हुन्छिन् चलचित्रको कथा यसै वरिपरि घुमेको निर्देशक घिमिरेले बताएका छन् ।
चलचित्रको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र विशाल खरेलका अलावा हेमन्त बुढाथोकी, शिव शङ्कर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरूको अभिनय रहेको छ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।‘प्रेम दिवस’मा मानकृष्ण महर्जनको छायाङ्कन रहेको छ ।