चलचित्र 'प्रेम दिवस' यती बेला प्रदर्शनको सँघारमा छ । आगामी शुक्रवारदेखि प्रदर्शनमा आउने यस चलचित्रको प्रचारप्रसार भने निकै न्यून देखिन्छ । यसैबिच चलचित्रका मुख्य कलाकार प्रियंका र आयुष्मान आफैँ प्रचारप्रसारमा लागी परेका छन् । रियल लाइफ यो जोडी चलचित्र 'प्रेम दिवस'लाई लिएर निकै आशावादी रहेका छन् । योगेश घिमिरेको निर्देशन र मनेश दाहालको निर्माणमा बनेको चलचित्रमा प्रियंकाले भिन्न मनस्थिति भएको केटीको भूमिका निभाएकी छिन् । उनी एक धनी र अर्का निम्न स्तरको केटासँग प्रेममा परेकी हुन्छिन् । गरिब प्रेमीको भूमिका आयुष्मानले निभाएका छन् भने धनीको भूमिका डेब्यु अभिनेता विशाल खरेलले निभाएका छन् । सामान्यतया हेर्ने हो भने यती बेला चलचित्रको प्रचारप्रसार तीव्र गतिमा हुनुपर्ने हो । निर्माण पक्ष देखी कलाकारहरू प्रचारप्रसारको दौडाहामा लाग्नु पर्ने हो । तर यतिबेलासम्म आइसक्दा पनि कलाकार र निर्माण पक्ष लगभग गुमनाम जस्तै छन् । यसैबिच 
चलचित्रको प्रचलित प्रचारप्रसार गर्ने तरिकाभन्दा फरक शैली अपनाएको कारण बजारमा हल्लाखल्ला नभएको तर आफूहरूले नयाँ अनि फरक तरिका अपनाएको चलचित्रका मुख्य कलाकार प्रियंका,आयुष्मान बताउँछन् ।

प्रेमलाई बाँड्दै र प्रेमसँग सम्बन्धित रमाइला पक्षलाई अझ सुन्दर बनाउने अनि दर्शकसँग प्रत्यक्ष जोडिने खालका कार्यक्रम आयोजना आफूहरूले गरिरहेको उनीहरूको दाबी छ ।यस अघि चलचित्र 'कथा काठमाडौँ'मा यो जोडिले काम गरिसकेका भए पनि अन स्क्रीन जोडी भएर खेलेको यो नै उनीहरूको पहिलो चलचित्र हो । यसैले पनि एक किसिमको उत्साह प्रियंका आयुष्मानमा देखिन्छ । 
आफ्नो प्रेम व्यक्त गर्न नहिचकिचाउने उनीहरूले छिट्टै नै विवाह त गर्दै छन् नै यसका साथै आफूहरूले गरेको प्रेम एकअर्कासम्म पुर्‍याउन कुनै अप्ठ्यारो मान्दैनन् ।  प्रेमको विषयमा बनेको चलचित्रको प्रचारप्रसारमा लागेका प्रियंका र आयुष्मान एकअर्कामा प्रेम साट्न सिक्नु पर्छ भन्नेमा विश्वास गर्छन् । आफ्नो काम अनि व्यस्तता भन्दा केही समय बाहिर रहेर प्रेमी/प्रेमिका वा श्रीमान्/श्रीमती साथीभाइसँग समय बिताउने हो भने माया कहिले घट्दैन भन्ने कुरामा विश्वास गर्छन् ।  मनेश दाहालको निर्माणमा बनेको चलचित्रमा  रोशन श्रेष्ठको द्वन्द्व निर्देशन बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । ‘प्रेम दिवस’मा मानकृष्ण महर्जनको छायाङ्कन रहेको छ ।